काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई उनकै निवासमा चक्कु प्रहार गरेको आरोपमा भारतीय प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । मोहम्मद शरीफुल इस्लाम शहजाद नाम गरेका एक व्यक्तिलाई शनिबार राति सवा २ बजे पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पक्राउ परेका ३० वर्षीय शहजाद चोरीको उद्देश्यले खानको निवासमा छिरेको बताइएको छ । उनी भारतीय भएको समेत कुनै प्रमाण नभएकाले प्रहरीले उनी बंग्लादेशी हुनसक्ने आकलन गरेको छ । अवैधरूपमा भारत प्रवेश गरिसकेपछि विजय दास नाम राखेका उनी करिब ६ महिनाअघि मात्र मुम्बई पुगेका थिए ।
अभिनेता खानमाथि उनी एक्लैले हमला गरे या अरू पनि थिए भन्ने प्रश्नमा प्रहरीले अनुसन्धान चलिरहेको जवाफ दिएको छ । यसअघि पनि प्रहरीले शनिबार अर्का संदिग्धलाई पक्राउ गरेको थियो । तर उनी यस घटनामा संलग्न रहेको पाइएन ।