काठमाडौं । नेपाल खो-खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भारतको इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा नेपालको महिला र पुरुष दुवै समूहले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फ नेपालले सेमिफाइनलमा युगान्डालाई ७१ अंकले पराजित गर्यो भने पुरुषतर्फ नेपालले इरानलाई ५२ अंकले पराजित गरेको हो ।
महिला तर्फको खेलमा युगान्डाले टस जितेर सुरुवातमा अट्याक्ट गर्ने निर्णय लिएको थियो । नेपालले टर्न एकमा आशा थारुको उत्कृष्ट प्रदर्शनको मद्दतमा ड्रिम रन मार्फत् तीन अंक जोड्यो ।
युगान्डाले मात्र १२ अंक बनाएको थियो । टर्न दुई मा अट्याक्टमा उत्रिएको नेपालले शानदार प्रदर्शनलाई निरन्तरता दियो । टर्न दुई सकिँदा नेपालले २७ अंकको अग्रता कायम गरेको थियो ।
समग्रमा ३९-१२ अंक सहित नेपाल तेस्रो टर्नमा डिफेन्समा उत्रियो । युगान्डालाई लगातार दबाबमा राखेको नेपालले ड्रिम रन मार्फत् प्राप्त हुने सबै आठ अंक हासिल गरेपछि जिततर्फ उन्मुख भएको थियो । अट्याक्टमा रहेको युगान्डाले मात्र ६ अंक जोड्न सक्यो । अन्तिम टर्नमा जानु अघि नेपाल ४७-१८ ले अघि थियो । चौथो तथा अन्तिम टर्नमा नेपालले ४२ अंक प्राप्त गर्यो । नेपाल सामु युगान्डा कमजोर सावित भयो । समग्रमा नेपाल ८९-१८ जितका साथ पहिलो संस्करणको खो-खो विश्वकपको उपाधी नजिक पुगेको छ ।
नेपालले ड्रिम रनमा कुल ११ अंक हासिल गरेको थियो । टच मार्फत सर्वाधिक ३८ अंङ्क ल्याएको थियो । स्काइ डाइभ मार्फत् २४ र पोल डाइभमा नेपालले चार अंक जोड्न सफल भएको थियो । अन्य डाइभ मार्फत १० अंक बटुल्यो । अल राउन्ड प्रदर्शन गरेकी पूजा ओड प्लेयर अफ द म्याच बनिन् । दीपा बिक उत्कृष्ट डिफेन्डर घोषित भइन् । नेपाल अपराजित रहँदै उपाधिनजिक पुगेको हो । नेपालले समूह चरणमा भुटान, बंगलादेश र जर्मनीलाई पराजित गरेको थियो । क्वाटरफाइनलमा इरानलाई हरायो । दक्षिण अफ्रिका र भारतबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
पुरुष तर्फ नेपालले टस जितेर डिफेन्स राजेको थियो । अपराजित रहँदै अन्तिम चारमा पुगेको इरानले अपेक्षाकृत प्रदर्शन गर्न सकेन् । अट्याक्टमा रहेको इरानलाई नेपालले मात्र ८ अंक जोड्न दियो । नेपालले उत्कृष्ट प्रदर्शनका साथ ड्रिम रनमा तीन अंक बटुल्यो । टर्न दुई को सात मिनेटमा नेपालले ३२ अंक हात पार्यो । समग्रमा नेपालले ३५-८ को अग्रता सहित इरान माथि पक्कड जमाएको थियो । तेस्रो टर्नमा डिफेन्समा रहेको नेपालले एक अंक प्राप्त गर्यो । यो पटक इरानले १२ अंक जोडेको थियो ।
चौथों टर्नमा ५२ अंक थपेपछि नेपाल समग्रमा ७२-२० को जीत सहित उपाधी नजिक पुगेको हो । नेपालले भारतसँग पराजित हुँदै विश्वकप यात्रा सुरु गरेको थियो । त्यसपछि उत्कृष्ट पुनरागमन गरेको नेपाल अपराजित छ । नेपालले समुह चरणमा पेरु, ब्राजिल र भुटानलाई हराएको थियो । क्वाटरफाइनलमा बंगलादेशको चुनौती पार गरेको थियो । इरानले जारी विश्वकपमा बेहोरेको यो नै पहिलो हार हो । महिला तथा पुरुष दुवै फाइनल आइतबार हुनेछन् । पुरुष टिमले दक्षिण अफ्रिका र भारतबीचको विजेतासँग फाइनल खेल्ने छ ।