आजबाट यू-१९ महिला विश्वकप, बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

माघ ५, २०८१ |खेल ब्युरो
आजबाट यू-१९ महिला विश्वकप, बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । दोस्रो संस्करणको आईसीसी यू-१९ टी ट्वेन्टी महिला विश्वकप आजदेखि मलेसियामा सुरू हुँदै छ । वाईएसडी-यूकेएम क्रिकेट ओभल, बांगीमा नेपालले सवा १२ बजे बंगलादेश विरुद्ध खेल्दै विश्वकपमा डेब्यू गर्दै छ ।

नेपाल र बंगलादेशको महिला यू-१९ टोली हालसम्म एक पटक मात्रै एक–अर्का विरुद्ध मैदानमा उत्रिएका छन् । यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको उक्त खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको लक्ष्य बंगलादेशले ७ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गरेको थियो । आज नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।

विश्वकपअघि खेलिएका ‘वार्म अप’ खेलमा नेपालले वेस्ट इन्डिजसँग ९ रन र अमेरिकासँग ५ विकेटको हार बेहोरेको थियो । बंगलादेशले इङ्ल्यान्डलाई सुपर ओभरमा पराजित गरेको थियो भने श्रीलंकालाई ४ विकेटले हराएको थियो । तुलनात्मक रूपमा बंगलादेश नेपालभन्दा बलियो टोली हो । टेस्ट राष्ट्र बंगलादेश एसिया कपको फाइनलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।

बंगलादेश विरुद्ध प्रशिक्षक महेश रिजालले कप्तान पूजा महतो र उपकप्तान सोनी पाख्रिनबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् । सुपर सिक्समा पुग्ने लक्ष्य सहित मलेसिया गएको नेपालका लागि माथिल्लो क्रममा साना प्रभिन र सावित्री धामी चल्नु आवश्यक छ । विश्वकप छनोट र एसिया कपमा फिल्डिङ, फिटिनेस र ‘रनिङ बिट्विन द विकेट’मा कमजोर देखिएको नेपालले यी सबै क्षेत्रमा सुधारिएको प्रदर्शन गर्नुपर्ने छ ।

विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।

नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्ड र ९ गते अस्ट्रेलिया विरुद्ध खेल्ने छ । विश्वकपको पहिलो दिन ६ खेल हुँदै छन् । सवा ८ बजे सुरू हुने खेलमा अस्ट्रेलिया र स्कटल्यान्ड, इङ्ल्यान्ड र आयरल्यान्ड तथा नाइजेरिया र सामोआ प्रतिस्पर्धा गर्ने छन् । सवा १२ बजे हुने खेलमा नेपाल र बंगलादेश सहित पाकिस्तान र अमेरिका तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन् ।



Enter Kantipur TV HD
Advertisement