काठमाडौं । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
विभागीय डर्बीमा पुलिसलाई च्याम्पियन बनाउन स्पिनरहरु सागर ढकाल र ललित राजवंशीले सानदार बलिङ गरे । वीरगन्जको नारायणी रंगशालामा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको सामान्य लक्ष्य पुरा गर्न नसक्दा आर्मीले उपविजेतामा चित्त बुझाएको हो ।
पहिलो दिन आर्मीले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको पुलिसले ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन जोडेका थिए । आर्मीका साहव आलमले ७ विकेट लिएका थिए । आर्मीले पहिलो इनिङमा १ सय ७० रन बनाएपछि ३७ रनको सामान्य अग्रता लिएको थियो । उसका भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । पुलिसका लागि सागर ढकालले ५ तथा कुशल भुर्तेलले ३ विकेट लिएका थिए ।
३७ रनले पछि परेको अवस्थाबाट दोस्रो इनिङ्स थालेको पुलिसले १ सय ३९ रन बनाएपछि आर्मीले जितका लागि १ सय ३ रनको लक्ष्य पाएको थियो । पुलिसका लागि दोस्रो इनिङमा कुशल भुर्तेलले सर्वाधिक ४५ रन जोडे । दिलिप नाथ ३४ तथा राशिद खानले १८ रन बनाए । १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको अवस्थाबाट तेस्रो दिनको सुरुवात गरेको पुलिसले थप ७ रन जोड्दा अन्तिम विकेट गुमाएको थियो । आर्मीका अहमद र साहब आलमले समान ५-५ विकेट लिए ।
१ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मी ७४ रनमा समेटिएपछि २८ रनको जितसहित पुलिस च्याम्पियन बन्यो । आर्मीका इमरान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११-११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि सागरले ६ र ललितले ४ विकेट लिए ।