अन्डर-१९ टी-२० महिला विश्वकपमा कस्तो रहला नेपालको प्रदर्शन ?

माघ ३, २०८१ |खेल ब्युरो
अन्डर-१९ टी-२० महिला विश्वकपमा कस्तो रहला नेपालको प्रदर्शन ?

काठमाडौं । दोस्रो संस्करणको आईसीसी अन्डर-१९ टी-२० महिला विश्वकप शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगितामा सहभागी १६ टोलीले अभ्यास खेलसमेत खेलिसकेका छन् । एसिया छनोटको विजेताका रुपमा विश्वकपमा छनोट नेपालले पनि अन्तिम तयारी सकेको छ । सुपर सिक्समा पुग्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले कस्तो प्रदर्शन गर्ला ?

आईसीसी अन्डर-१९ टी-२० महिला विश्वकपको दोस्रो संस्करणमा १६ देशका राइजिङ स्टारहरुले प्रतिस्पर्धा गर्दै छन् । चार मैदानमा हुने ४१ खेलपछि प्रतियोगिताको विजेता टुंगो लाग्ने छ । यो प्रतियोगिताका लागि नेपाली टोली पनि मलेसियामा छ । महेश रिजालको प्रशिक्षण र पूजा महतोको कप्तानीमा मलेसियामा रहेको नेपालले सुपर सिक्समा स्थान बनाउने लक्ष्य राखेको छ । तर वार्म अफ म्याचमा नेपाल वेस्ट इन्डिज र अमेरिकासाग पराजित भएको थियो । विश्वकप छनोटदेखिनै निकै व्यस्त तालिका रहेको महिला अन्डर-१९ टोलीले त्यसपछि एसिया कप खेलेको थियो । एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरसम्म पुगेको नेपालका केही खेल वर्षाका कारण रद्द भएका थिए । त्यसपछि चितवन र काठमाडौंमा ३ महिना प्रशिक्षण गरेको थियो ।

विश्वकप छनोट र एसिया कपमा फिल्डिङ, फिटिनेस र रनिङ बिट्विन द विकेटमा कमजोर नेपालले प्रशिक्षणका क्रममा यी सबै क्षेत्रमा विशेष काम गरेको थियो । विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । समूह एमा भारत, मलेसिया श्रीलंका र वेस्ट इन्डिज छन् । समूह बीमा इङ्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । यस्तै समूह सीमा न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् ।

नेपाल सम्मिलित समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । भारत पहिलो संस्करणको विजेता र मलेसिया आयोजकको रुपमा विश्वकपमा छनोट भएका हुन् । नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका क्षेत्रीय छनोटमार्फत् विश्वकपकमा छनोट हुँदा बाँकी टिम अघिल्लो विश्वकपको प्रदर्शनका आधारमा सिधै छनोट भएका थिए ।

प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्समा पुग्ने १२ टोलीलाई २ पोलमा विभाजन गरिएको छ । नेपालले बंगलादेशविरुद्ध माघ ५ गते खेल्दै विश्वकपमा डेब्यू गर्ने छ । दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्ड र ९ गते अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।



Enter Kantipur TV HD
Advertisement