काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरू हुँदै छ । पहिलो पटक हुन लागेको कबड्डीको फ्रेन्चाइज लिगमा सहभागी ६ वटै टिमका मार्की खेलाडीले तयारी राम्रो भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन् ।
दशरथ रंगशालामा हिजो भएको प्रि-म्याच प्रेस कन्फरेन्समा काठमाडौं माभरिक्सका प्रशिक्षक सरोज सिंहले आफ्नो टिम बलियो भएको प्रतिक्रिया दिए । यो टिमको मार्की घनश्याम रोका मगर छन् । राष्ट्रिय टिमका कप्तान समेत रहेका घनश्यामसँग भारतको प्रो-कबड्डी लिग खेलेको अनुभव छ । काठमाडौंमा दुई जना थाइल्यान्ड र एक जना बंगलादेशका खेलाडी समावेश छन् ।
यता पोखरा लकर्सका प्रशिक्षक विष्णुदत्त भट्ट र मार्की खेलाडी प्रदीप मिजारले टिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको संयोजन रहेको बताए ।
लिगमा जनकपुर नाइटस्, हिमालयन राइडर्स, धनगढी वाइल्डक्याट्स र विराटनगर ब्यान्डिट्स छन् । क्रिकेटको फ्रेन्चाइज नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । सोही कारण आफूहरूलाई पनि उपाधि जित्नुपर्ने दबाब रहेको जनकपुरकी प्रशिक्षक पार्वती राईले बताइन् । अभ्यासका क्रममा भाषाको समस्या भए पनि अहिले टिम सेट भइसकेको उनको भनाइ छ ।
हिमालयन राईडर्स अहिलेसम्मको निकै सशक्त टिम देखिएको छ । यो टिमको मुख्य प्रशिक्षक भारतका सतिस कुमार छन् । टिम पनि भारतमै बसेर १४ दिनको अभ्यास गरेर आएको छ ।
धनगढीका प्रशिक्षक पदमबहादुर विष्टले नेपालमा पहिलो पटक हुन लागेको लिगका लागि खेलाडी उत्साहित रहेको बताए । यो लिग नेपाली खेलाडीका लागि ठूलो एक्सपोजर भएको विराटनगरका मार्की कल्याण भुजेलको भनाइ छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ साढे ६ बजे सुरू हुनेछ ।