काठमाडौं । गाजा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौतालाई इजरायलको पूर्ण मन्त्रिपरिषद्ले पारित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सम्झौता पारित भएको जानकारी दिएको हो ।
प्यालेस्टिनी लडाकु समूह हमाससँगको युद्धविराम सम्झौताको पक्षमा २४ इजरायली मन्त्रीले मतदान गरका छन् भने विपक्षमा जम्मा ८ मत खसेको थियो । हिजो मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमाससँगको सम्झौतामा हस्ताक्षर गरेर कतारबाट फर्केका प्रतिनिधिहरूको उपस्थितिमा बसेको सुरक्षा परिषद् बैठकले सम्झौतालाई अनुमोदन गरेपछि उक्त सम्झौता प्रस्तावलाई पूर्ण मन्त्रिपरिषद्मा लगिएको थियो । जहाँ लामो छलफलपछि सम्झौतालाई कार्यान्वयनका लागि सहमति जुटेको बताइएको छ ।
इजरायली मन्त्रिपरिषद्बाट पारित भएसँगै उक्त सम्झौता आइतबारबाट कार्यान्वयनमा आउने छ । जसअनुसार पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जनालाई रिहा गर्ने बताइएको छ ।
आइतबार हमासले पहिलो दिन तीन बन्धकलाई रिहा गर्नेछ भने इजरायलले जनघनत्व भएको क्षेत्रबाट आफ्नो सेना फिर्ता लिन सुरू गर्नेछ । त्यसको सात दिनपछि, हमासले थप चार बन्धकलाई रिहा गर्नेछ भने इजरायलले विस्थापित भई दक्षिण गाजा आएका मानिसलाई उत्तर फर्कन अनुमति दिनेछ ।
सम्झौता अनुसार इजरायली सेना फिलाडेल्फी करिडोरमा रहने र पहिलो चरणको अवधिमा पूर्वी र उत्तरी सीमानामा ८ सय मिटरको बफर जोन कायम राख्ने प्रावधान समावेश छ । जुन ४२ दिनसम्म चल्ने बताइएको छ । यस्तै एक इजरायली सैनिकको बदलामा इजरायलले ५० प्यालेस्टिनीलाई रिहा गर्नु पर्ने हुन्छ । इजरायलले प्रत्येक दिन मानवीय सहायता बोकेका करिब ६ सय ट्रकलाई गाजा भित्रने अनुमति दिने बताइएको छ ।
यस्तै युद्धविरामको १६ औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ ।