काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र हो– सिंहदरबार । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको कार्यालय पनि सिंहदरबारमै छ । प्रधानमन्त्रीले देशका समग्र प्रशासनिक गतिविधिको निगरानी यहींबाट गर्नुहुन्छ । यस्तो महत्त्वपूर्ण प्रशासनिक थलो प्रधानमन्त्री कार्यालय पछिल्लो समय विश्वविद्यालयहरूको सिनेट बैठक बस्ने ठाउँको रूपमा समेत चिनिन थालेको छ ।
आफ्नै विश्वविद्यालयमा बस्नुपर्ने सिनेट बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबार वा प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बस्नु कति उचित हो त ?
उच्चशिक्षाको अध्ययन अनुसन्धान गर्ने प्राज्ञिक थलो विश्वविद्यालयमै सिनेट बैठक बस्नुपर्ने नियम छ । तर काठमाडौं विश्वविद्यालयको सिनेट बैठक शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्यो । यो मात्र होइन विश्वविद्यालयका प्रायः सिनेट बैठक सिंहदरबारमै बस्ने गरेका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण सिनेट बैठक सिंहदरबारमा राख्न बाध्य भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा बताउनुहुन्छ ।
काठमाडौं विश्वविद्यालयको मात्र होइन, देशकै पुरानो त्रिभुवन विश्वविद्यालयदेखि प्रायजसो विश्वविद्यालयका सिनेट बैठक कि प्रधानमन्त्री कार्यालय सिंहदरबार वा निजी निवास बालुटावारमा बस्ने गरेका छन् । विश्वविद्यालयको सिनेट बैठक सम्बन्धित विश्वविद्यालयमा नबसी समय अभावको बहाना बनाएर सिंहदरबार वा बालुवाटारमा बस्नु गलत भएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा कुलप्रसाद कोइरालाको धारणा छ ।
विश्वविद्यालयहरूका बैठक प्रधानमन्त्री कार्यालयमा बस्दा प्रशासनिक काममा बाधा पर्ने गरेको छ । अर्कोतिर विश्वविद्यालयका गतिविधिबारे समेत प्रधानमन्त्री वेखबर हुने स्थिति आउँछ । यसले गर्दा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप मात्र बढेको छैन् उच्चशिक्षाको गुणस्तरमा प्रभाव पर्न सक्छ ।
त्यसो त धेरैजसो समय व्यस्त रहने प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने भन्ने विषय नउठेको होइन । तर यो व्यवस्थालाई परिवर्तन गरिएको छैन । प्रधानमन्त्री कुलपति रहने व्यवस्थाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुने गरेको छ ।
संघीय विश्वविद्यालयहरूमा प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था छ । यो व्यवस्था परिवर्तन गर्न नसक्दा शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव त परेको छ नै सिनेट बैठक समेत सिंहदरबारमा बस्नुपर्दा त्यसले झन् बेथिति बढाएको छ ।