काठमाडौं । प्रधानमन्त्री कप महिला टी-ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशविरुद्ध १० विकेटको सहज जित हात पारेको हो ।
बिहीबार परेको वर्षाका कारण फाप्ला क्रिकेट मैदानको आउट फिल्ड खराब भएपछि ढिला सुरू भएको खेल पाँच ओभरमा घटाइएको थियो ।
सुदूरले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेट गुमाएर २० रन बनाएको थियो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रुति बुढाले सर्वाधिक ८ तथा रमा बुढाथोकीले ६ रन जोडिन् । सुदूरपश्चिमका लागि आशिका महराले ३, कविता कुँवरले २ तथा ऋतु कनौजियाले १ विकेट लिईन् ।
जवाफमा २१ रनको समान्य लक्ष्य सुदूरपश्चिमले केबल ९ बलमा बिनाकुनै विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा कविता कुँवरले सर्वाधिक १४ र मनिषा बोहोराले ५ रन जोडिन् । दुवै खेलाडी नटआउट रहे । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित कर्णाली ३ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ ।