राजनीतिक किचलोले मधेश कृषि विश्वविद्यालय लथालिङ्ग

११० विद्यार्थी प्रवेश परीक्षा दिनबाटै वञ्चित
माघ ५, २०८१ |आरएन विश्वास
राजनीतिक किचलोले मधेश कृषि विश्वविद्यालय लथालिङ्ग

सप्तरी । मधेश प्रदेश सरकारका गौरवका आयोजनाहरूमध्येको एक हो मधेश कृषि विश्वविद्यालय । सप्तरीको राजविराजमा स्थापना भएर अध्ययन अध्यापनको काम चलिरहेको विश्वविद्यालय राजनीतिक किचलोले लथालिङ्ग छ ।

मधेश प्रदेश सरकारले चार वर्षअघि राजविराजमा मधेश कृषि विश्वविद्यालय स्थापना गर्‍यो । स्थापना लगत्तै आफ्नै भवन नभए पनि भाडाको भवनमा प्रशासनिक र पठनपाठनको काम थालियो । राजविराज नगरपालिकाले वडा नम्बर १३ विषहरियामा विश्वविद्यालयका लागि उपलब्ध गराएको जग्गामा भवन निर्माण गर्न १ अर्ब २१ करोडमा टेन्डर भएर काम सुरू भयो । तर विश्वविद्यालय लथालिङ्गै छ । कारण हो त्यही भवनको शिलान्यास गर्ने दिन भएको झडप ।

सुरक्षाकर्मीको लाठीबाट विश्वविद्यालयका तत्कालीन सहउपकुलपति एवं शिक्षामन्त्री महेश यादवको टाउकोमा चोट लाग्यो भने अहिलेका मुख्यमन्त्री सतिशकुमार सिंह पनि घाइते हुनुभयो । जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत अध्यक्ष सीके राउतमध्ये कसले भवन शिलान्यास गर्ने विषय विवादित हुँदा २०८० माघ ८ गते जसपा अध्यक्ष यादव र तत्कालीन मुख्यमन्त्री सरोज यादवले सुरक्षाघेरामा शिलान्यास गर्नुभयो । सोही विवादमा जनमतले विश्वविद्यालयमा लगाएको ताला दुई सातापछि खुल्यो । यही घटनालाई कारण बनाएर जसपा नेतृत्वको मधेश सरकारबाट जनमत पार्टी बाहिरियो । तर जब जनमत मधेश सरकारको नेतृत्वमा पुग्यो अनि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति विश्वविद्यालयमाथि गठन गरियो ।

उक्त समितिको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन । यही कारण विश्वविद्यालय सभाको बैठक भए पनि कुनै निर्णय हुन सकेको छैन । विश्वविद्यालय सभाले नै बजेट स्वीकृत हुने हुँदा उक्त काम रोकिँदा विश्वविद्यालय लथालिङ्ग छ ।

किचलोका कारण अहिले बीएसीएजीतर्फको एक सय विद्यार्थीको पठनपाठन प्रभावित छ भने नयाँ भर्नाका लागि फारम भरेका ११० जना विद्यार्थीले प्रवेश परीक्षा दिन पाएका छैनन् । यस्तै विश्वविद्यालयका उपकुलपतिदेखि कार्यालय सहायकसम्मले पछिल्लो ६ महिनादेखि तलब नपाउँदा समस्या छ ।

विश्वविद्यालयसँग बजेटै नभएको होइन । वर्तमान सरकारले बजेट कटौती गरेर १० लाख मात्रै छुट्याए पनि स्थापनाकालकै ३० करोडभन्दा बढी रकम छ । तर सिनेटले सिलिङ पास नगर्दा खर्च गर्न अनुमति छैन ।

कृषि विश्वविद्यालय सभाको अध्यक्षमा सहउपकुलपति मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री र सदस्यसचिवमा विश्वविद्यालयका उपकुलपति हुने व्यवस्था छ । तर शिक्षामन्त्री रानी शर्मा तिवारीको प्रतिक्रिया लिने प्रयास लामो समयसम्म पनि सफल हुन सकेन । मधेशमा तंग्रिदै गरेको एउटा विश्वविद्यालयलाई आपसी कलहले लथालिङ्ग बनाउनुको साटो कसरी ट्र्याकमा ल्याउन सकिन्छ भनेतर्फ सरोकारवालाहरूलाई गम्भीर हुनु जरुरी छ । 


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement