काठमाडौं । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे अन्तर्गत गए रातिको खेलमा रियल मड्रिडले पाहुना टोली सेल्टा भिगो विरुद्ध ५-२ गोल अन्तरको जित हात पारेको छ ।
खेलको ३७ औं मिनेटमा नै केलियन एम्बाप्पेले गोल गरेर रियललाई अग्रता दिलाएका थिए । उनले ड्यानी सेबालोसको पासमा गोल गरेपछि रियलले पहिलो हाफमा एक गोलको अग्रता बनाएको हो । यसैगरी, फरवार्ड भिनिसियर जुनियरले खेलको ४८ औं मिनेटमा गोल गर्दा रियल सहज अवस्थामा पुगेको हो । रियलको उत्कृष्ट टिम प्लेबाट ब्रहिम डियाजले पास मिलाइदिएपछि भिनिसियसले पोस्टको नजिकैबाट गोल गरे । यो गोल रियललाई सहज अवस्थामा पुर्याउनका लागि पर्याप्त बन्यो ।
५६ औं मिनेटमा सब्सिटच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका ह्युगो सुटेलोले खेलको ७० औं मिनेटमा लामो रेन्जबाट शक्तिशाली प्रहार गरेको भए पनि गोलकिपर थियाउट कोटवाले शानदार सेभ गरे । खेलको ७८ औं मिनेटमा रियलले अग्रता गोल गरेको ठानेको थियो । तर रेफ्रीले भीएआरको सहयोगमा भिनिसियसलाई अफसाइड देखाउँदै सो गोल रद्द गरिदिएका थिए । एम्बाप्पेको पासमा भिनिसियस एक सेकेन्ड सयमले मात्रै अघि पुगेपछि उनी अफसाइड देखिएका हुन् । उनी यसअघि ५८ औं मिनेटमा पनि अफसाइड देखिएपछि रियलको एउटा अट्याक समाप्त भएको थियो ।
निर्धारित समयको सात मिनेट बाँकी रहँदा सेल्टाका लागि जोनाथन बाम्बाले डुरानको पासमा गोल गरेर आशा दिएका थिए। यससँगै खेल थप रोमाञ्चक बनेको थियो । खेलको अन्तिम मिनेटमा सेल्टाले पेनाल्टी पाएपछि खेलमा पासा पल्टिएको थियो । यससँगै स्टपेज समयमा मार्कोस एलोन्सोले गोल गरेपछि खेल निर्धारित समयमा २-२ को बराबरी भएको हो ।
कोपा डेल रेको क्वार्टरफाइनल पुग्नको लागि स्पष्ट जित हारको नतिजा आवश्यक रहेको हुँदा खेलमा अतरिक्त ३० मिनेट थप गरिएको थियो । अतिरिक्त समयको लागि फरवार्ड जुड बेलिङ्घम, रोड्रिगो र इन्ड्रिकले रियलको अग्रपंति सम्हालेका थिए । उनीहरूले एम्बाप्पे, भिनिसियस र गार्सियालाई विस्थापन गरेका थिए ।
एम्बापेका सब्सिटच्युट एन्ड्रिकले खेलको १०८ औं र ११९ औं मिनेटमा गोल गरेपछि रियलले खेलमा शानदार कमब्याक गरेको हो । रियलका लागि पाँच गोलको माइलस्टोन उनैले पूरा गरे । यसबीच खेलको ११२ औं मिनेटमा फेडेरिको भालभर्डेले पनि गोल गरेका थिए । भालभर्डेको लागि छुवामेनिले पास मिलाइदिएका थिए । यो जितसँगै रियल क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने सेल्टा बाहिरिएको छ ।