धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले फागुनमा लगानी सम्मेलन गर्ने भएको छ । पर्यटन, उद्योग, होटल र व्यावसायिक कृषिका क्षेत्रमा निजी लगानी भित्र्याउन लगानी सम्मेलनको तयारी गरिएको हो ।
लगानी सम्मेलनका लागि साँगुरीगढी गाउँपालिकाले सार्वजनिक, निजी, साझेदारी ऐन गएको असारमै स्वीकृत गरिसकेको छ । निजी लगानीको वातावरण सहज बनाएर स्टार होटल, क्यासिनो, धरान-भेडेटार केबलकार, तरकारी, फलफूल र मसलाको औद्योगिक उत्पादनका क्षेत्रमा लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
साँगुरीगढी साहसिक खेल, होटल र पर्यटनका लागि उर्वर स्थान हो । अदुवा, बेसार, तेजपात जस्ता मसलाबाली, अर्ग्यानिक तरकारी र फलफूल उत्पादन पकेट क्षेत्र हो । साँगुरीगढी कोशी प्रदेशकै होटल उद्यम र पर्यटकीय सम्भावनाको क्षेत्र भएकाले निजी लगानीकर्ताहरूलाई आकर्षित गर्न विद्यमान कानुनी जटिलता खुकुलो पार्दै जाने मुख्यमन्त्री हिक्मत कार्कीको भनाइ छ ।
कोशी प्रदेश सरकारले पनि आगामी वैशाख १८ र १९ गते प्रथम लगानी सम्मेलन गर्दै छ । यही माघ ११ देखि १३ गतेसम्म गर्न लागिएको सम्मेलनको तयारी पूरा नभएको भन्दै २०८२ वैशाखका लागि सारिएको हो ।