एन्फा महिला सुपर लिगमा आजदेखि दोस्रो लेगका खेलहरु हुँदै

पुस २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला सुपर लिगमा आजदेखि दोस्रो लेगका खेलहरु हुँदै

काठमाडौं । एन्फा महिला सुपर लिगमा आजदेखि दोस्रो लेगका खेलहरु सञ्चालन हुँदैछ । लिगमा आज बागमती युवा क्लबले त्रिभुनव आर्मी क्लबको सामना गर्ने तालिका छ ।

निकै प्रतिस्पर्धात्मक बनिरहेको लिगको फिक्चर पेचिलो भएका कारण खेलाडीलाई चोट लाग्ने समस्या पनि बढ्दो छ । यस विषयमा प्रशिक्षकले चिन्ता व्यक्त गर्न थालिसकेका छन् । आज आर्मी र बागमतिको खेल दिउँसो तीन बजे एन्फा मैदानमा हुनेछ ।

पहिले लेगमा त्रिभुवन आर्मी क्लब एपीएफसँग मात्रै पराजित भएको थियो । उसले पुलिससँग बराबरी खेलेको थियो । यससँगै लिगमा चार खेलबाट ७ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । ऊ शीर्षस्थाको एपीएफभन्दा चार अंकले पछि छ । यता बागमती भने प्ले अफमा पुग्ने योजनासाथ खेलिरहेको छ ।

उसले पहिले लेगमा वालिङसँगको रोमाञ्चक खेलमा जित दर्ता गरेको थियो । एन्फा लिगमा गत शनिबार खेलेको आर्मीले एक दिनको मात्रै रेस्टपछि आज खेल्न लागेको हो । उसका खेलाडीमा थकान निको नभएको समस्या छ । यता बागमतीले भने दुई दिनको आराम पाएको छ । त्यसैले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । बागमतीले पनि लिगका लागि दुई हप्ताको अभ्यास गरेको छ । आर्मी र बागमती अघिल्लो लेगको पनि पहिलो खेलमा प्रतिस्पर्धा गरेका थिए ।

यी दुई क्लबबीच भएको पहिलो खेलमा आर्मीले २-० को जित दर्ता गरेको थियो । सो खेलमा विमला चौधरीले दोहोरो गोल गरेका थिइन् । लिगअन्तर्गत पहिलो चरणको खेलमा भने आर्मीले बागमतीलाई ३-० ले हराएको थियो । सो खेलमा अमिषा कार्की र विमलाले गोल गर्दा सन्जि थिङले आत्मघाति गोल गरेकी थिइन् । बागमती लिग चरणको शीर्ष ६ मा रहे पनि कोशीले सुपर लिग नखेल्ने भएपछि महिला लिगको दोस्रो चणमा प्रवेश पाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement