इंग्लिस एफए कप : वेस्ट हृयामविरुद्ध एस्टन भिल्लाको जित

पुस २७, २०८१ |खेल ब्युरो
इंग्लिस एफए कप : वेस्ट हृयामविरुद्ध एस्टन भिल्लाको जित

काठमाडौं । इंग्लिस एफए कपअन्तर्गत गएरातिको खेलमा वेस्ट हृयामविरुद्ध एस्टन भिल्लाले २-१ को जित दर्ता गरेको छ। वेस्टहृयामको प्रशिक्षकका रुपमा डेब्यु गरेका ग्राहम पोटरले भने आफ्नो पहिलो खेलमा नै हार ब्यहोरेर खराब सुरुआत गरेका छन्। 

गएराति भिल्ला पार्कमा भएको खेलमा पाहुना टोली वेस्ट हृयामले निकै सानदार सुरुआत गर्यो। नवौं मिनेटमा समरविलले पेनाल्टी बक्सभित्र अनर्माक रहेका लुकास पकेटलाई पल पास दिए। पकेटाले भिल्लाको खराब डिफेन्सको फाइदा उठाउँदै खेलमा स्वप्निल सुरुवात गरेका थिए। यससँगै पहिलो हाफमा भिल्ला एक गोलले पछि परेको थियो। खेलमा ६० प्रतिसत समय बलमा नियन्त्रण बनाएको भिल्लाले ७१ औं मिनेटमा मात्रै डेडलक तोड्न सक्यो।

फाबियान्सकीको पासमा आमाडोउ ओनानाले खेललाई १-१ गोलको बराबारीको अवस्थामा ल्याएका थिए। त्यतिबेला रेफ्री टिम रोबिन्सनले गल्तीवस् कर्नर प्रहारको अवसर दिएपछि वेस्ट हृयामका खेलाडी र अफिसियल आक्रोशित देखिएका थिए। त्यसैगरी, खेलको ७६ औं मिनेटमा गोल गरेपछि भिल्लाले खेलमा अग्रता बनाएको थियो। यसपटक मोर्गन रोजस्ले वाटकिन्सको पासमा गोल गरेका थिए। यससँगै एस्टन भिल्लाले एफए कपमा सन् २०१५ को सेमिफाइनल यता कुनै पनि प्रिमियर लिग क्लबलाई पहिलो पटक हराएको हो। १० वर्ष अघि उसले लिभरपुललाई हराएको थियो। यसअघिका लगातार ६ सिजनमा भिल्ला पराजित हुँदै आएको थियो। यता वेस्ट हृयाम भने लगातार तेस्रो पटक पनि तेस्रो चरणबाट नै बाहिरिएको छ।

करिब २ वर्षअघि चेल्सीबाट बर्खास्त भएपछि पोटर पहिलो पटक क्लबमा फर्किएका हुन्। तर पहिलो खेलमा उनले चाहेजस्तो नतिजा आउन सकेन। अहिले वेस्ट हृयामका निकलस फुलक्रुगलाई हृयामस्टि्रङ इन्ज्युरी छ भने जारोड बोवेनको खुट्टा भाँचिएको छ। त्यसैगरी मिचेल एन्टोनियो पनि लामो समय बाहिर रहेको अवस्थामा पोटर टिम सम्हाल्न आइपुगेका छन् ।



Enter Kantipur TV HD
Advertisement