चितवन । आईसीसी अन्डर नाइन्टिन महिला टी-ट्वेन्टी विश्वकपको संघारमा रहेको नेपाली क्रिकेट टोलीले चितवनमा करिब दुई साता प्रशिक्षण गर्यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा नेपाली टोलीले एसिया कपमा गरेको कमीकमजोरी हटाउने गरी विश्वकपको अन्तिम तयारी गरेको हो ।
पुस ९ गते साँझ चितवन आइपुगेको नेपाल महिला यू-१९ क्रिकेट टोलीले भोलिपल्ट बिहानदेखि प्रशिक्षण सुरू गर्यो । एसिया कपमा पाकिस्तान जस्तो बलियो टेस्ट राष्ट्रलाई हराएर मनोबल उच्च बनाएको नेपाली टोली स्वदेश फर्किए लगत्तै चितवनको फरक पिचमा प्रशिक्षण गर्न आइपुगेको हो । नेपाली टोलीमा मुख्य गरी धेरै रनआउट हुने र ठूला शट खेल्न नसक्ने समस्या देखिएको थियो । सुरूआतदेखि नै तिनै समस्यालाई ध्यान दिएर प्रशिक्षण गरियो । विश्वकप खेल्न जाँदै गर्दा ती समस्या लगभग हल गरेको विश्वास टोलीले गरेको छ ।
उनीहरूले उमेर समूका पुरुष बलरहरूको तीव्र गतिको बलिङ र स्पिनमा पनि प्रशिक्षण गरे जसमा ठूला शट खेल्न महिला खेलाडीले धेरै मिहिनेत गरे । नेपाली टोलीले ब्याटिङ, बलिङ, फिल्डिङ तीनै क्षेत्रमा धेरै सुधार गरेको छ । भविष्यमा विश्व महिला क्रिकेटमा नेपाललाई ठूलो शक्तिको रूपमा स्थापित गर्ने गरी यो तयारी भएको प्रशिक्षकको दाबी छ ।
मलेसियामै सम्पन्न एसिया कपमा यही टोलीले पाकिस्तानलाई हराउँदै सुपर ४ को यात्रा तय गरेको थियो । जहाँ भारत र बंगलादेशसँग पराजित भए पनि श्रीलंकासँगको खेल वर्षाले रद्द हुन पुगेको थियो । एसिया कपमा जसरी पाकिस्तान जस्तो बलियो टोलीलाई पराजित गर्यो त्यसरी नै विश्वकपमा सुखद् नतिजा निकाल्ने दाउमा नेपाली टोली छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँगै एनपीएलको फ्रेन्चाइज टोली चितवन राइनोजले निर्माण गरेको अभ्यास नेटमा समेत टोलीले प्रशिक्षण गर्यो । बचेको केही समय भरतपुरका रमणीय र ऐतिहासिकस्थलको भ्रमण गरेर टोलीले मनोबल उच्च बनाएको छ । माघ ५ गतेदेखि मलेसियामा हुने विश्वकपमा नेपाल, अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड सम्मिलित समूह 'डी' मा छ ।
माघ ५ गते नै बंगलादेशसँग खेल्दै नेपालले विश्वकपमा डेब्यु गर्नेछ । यो खेल एसिया कपमा बेहोरेको हारको बदला लिने अवसर पनि हुनेछ ।