
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग- एनपीएलको नयाँ च्याम्पियन बनेको छ।
टीयू क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। उपाधिसँगै लुम्बिनीले एक करोड ११ लाख रूपैयाँ जितेको छ भने कप्तान रोहित कुमार पौडेलले फाइनलमा ह्याट्रिक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको रोयल्सले १९ दशमलब १ ओभरमा अलआउट भएर ८५ रन मात्रै बनाएको थियो। लुम्बिनीले ८६ रनको लक्ष्य नौ ओभरमा नै चार विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। ओपनर विनोद भण्डारी शून्यमा आउट भएपछि उनी ६० रन थप गरेर सर्वाधिक रनकर्ता खेलाडी बन्नबाट चुके।
शेल्डन ज्याक्सनले पनि एक रन मात्रै जोड्न सके। यी दुवैलाई ट्रम्पलमनले आउट गराएका हुन्। चौथो नम्बरका आरिफ शेखलाई ६ रन बनाएको अवस्थामा शेर मल्लले एलबीडब्ल्यु धरापमा पारे। लुम्बिनीका बलरले धारिलो र किफायती बलिङ गर्दा सुदूरले पावर प्लेमा तीन विकेट गुमाएर २० रन मात्रै बनाएको थियो।
११औं ओभरमा दिपेन्द्र १३ रन बनाएर आउट भए। उनलाई आउट गराएका रोहितले यहीओभरमा ह्याट्रिक विकेट लिए। उनले दिपक बोहरा र पुनित महरालाई शून्यमा आउट गराए। इशान पाण्डे पनि ५१ बलमा ३३ रन बनाएर आउट भए। हरमित सिंह र स्कट कुगेलाइन समान १०-१० रन बनाएर क्याचआउट भए।
अभिनाष बोहरा ट्रम्पलमनको सिकार भए। लुम्बिनीका लागि ट्रम्पलमन, शेर मल्ल र रोहितले समान तीन-तीन विकेट लिएका थिए। ट्रम्पलमनले एक दशमलब ३८ को इकोनोमीमा बलिङ गरे। रोहित एनपीएलमा ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बनेका छन्। यसअघि साहब आलमले पनि ह्याट्रिक विकेट लिएका थिए।
जवाफमा लुम्बिनीले पहिलो ओभरमा नै विस्फोटक ब्याटिङ गर्यो। बलिङमा दिपेन्द्र सिंह आफैं आएको अवस्थामा दिनेश अधिकारीले २७ रन जोडेका थिए। झिनो लक्ष्य भएको खेलको पहिलो ओभरमै दिपेन्द्रले चार छक्का खर्चिन पुगे।
हेमन्त धामीले दुई तथा दिपेन्द्रले एक विकेट लिए पनि रोयल्सले लुम्बिनीको जित रोक्न सकेन । खेलमा १३ बलमा ४२ रन बनाएर दिनेश आउट भए। उनले डार्सी सटसँग ५८ रनको ओपनिङ साझेदारी गरे। डार्सीले १४ रनको योगदान गरे। रोहितले १६ रन मात्रै जोड्न सके भने सन्दीप जोरा शून्यमा आउट भए।
सुदूरपश्चिम लगातार दोस्रो सिजन पनि फाइनलमा पराजित भएको छ। गत सिजन लिग चरणको पुछारमा रहेको लुम्बिनीले भने यो सिजन पुनरागमन गरेर जित हासिल गरेको हो। सुदूरपश्चिम र लुम्बिनी दुवैले क्वालिफायरमा विराटनगर किंग्सलाई हराएर फाइनल पुगेका थिए। सुदूरले पहिलो क्वालिफायरमा किंग्सलाई ७७ रनले हराएको थियो भने दोस्रो क्वालिफायरमा लुम्बिनीले ४० रनको जित हासिल गरेको थियो।