
काठमाडौं । एनपीएलको फाइनलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेल जारी छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भए पनि सुदूरले राम्रो सुरुआत गर्न सकेन । उसले चार ओभर तीन बलमा नै तेस्रो विकेट गुमायो। ११ औं ओभरमा रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । टीयू क्रिकेट रंगशालामा उपाधिको निकै रोमाञ्चक भिडन्त भइरहेको छ।
लुम्बिनीले सुदूरपश्चिमलाई दबाबमा राख्दै खेल सुरू गरेको हो। १३ ओभरको समाप्तिमा सुदूरले ६ विकेट गुमाएर ४७ रन बनाएको छ । ओपनर विनोद भण्डारी शून्यमा आउट भए। यससँगै उनी सर्वाधिक रनकर्ता खेलाडी बन्नबाट चुके।
उनलाई रूबिन ट्रम्पलमनले पहिलो ओभरको अन्तिम बलमा क्याचआउट गराएका हुन्। त्यसैगरी, शेल्डन ज्याक्सनले पनि एक रनमात्रै जोड्न सके। उनलाई पनि ट्रम्पलमनले तेस्रो ओभरको तेस्रो बलमा एलबीडब्ल्यु आउट गराएका हुन्। चौथो नम्बरका आरिफ शेखलाई भने शेर मल्लले आउट गराएका छन्। लुम्बिनीका बलरले धारिलो र किफायती बलिङ गर्दा सुदूरले पावर प्लेमा तीन विकेट गुमाएर २० रन मात्रै बनाएको थियो।
यतिबेला इशान पाण्डे र दिपेन्द्र सिंह ऐरी क्रिजमा थिए। तर ११औं ओभरमा दिपेन्द्र १३ रन बनाएर आउट भए। उनलाई रोहित पौडेलले क्याचआउट गराएका हुन्। अर्को बलमा रोहितले दिपक बोहरालाई आउट गराएका हुन्।
सुदूरपश्चिम र लुम्बिनी दुवैले क्वालिफायरमा विराटनगर किंग्सलाई हराएर फाइनलपुगेका हुन्। सुदूरले पहिलो क्वालिफायरमा किंग्सलाई ७७ रनले हराएको थियो भने दोस्रो क्वालिफायरमा लुम्बिनीले ४० रनको जित हासिल गरेको थियो। प्ले अफको एलिमिनेटरमा लुम्बिनी काठमान्डु गोर्खाजमाथि विजयी भएको थियो।