तेस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप विजेताले साढे ४ लाख पुरस्कार पाउने

मंसिर २७, २०८२ |अर्जुन सुवेदी
तेस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप विजेताले साढे ४ लाख पुरस्कार पाउने

सुनसरी । तेस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार रूपैयाँ पुरस्कार पाउने भएको छ । 

आयोजक द योङ ब्रदर्श क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पुरस्कार राशीमा गत वर्षभन्दा दोब्बरले वृद्धि गरिएको जानकारी दिएको हो । क्लबकाअनुसार प्रतियोगिता आगामी फागुन २ गतेदेखि ९ गतेसम्म इटहरीस्थित जनता क्याम्पसको मैदानमा आयोजना हुनेछ । 

प्रतियोगितामा नेपाल र भारतका विभिन्न ८ टिमहरूको सहभागिता रहने जनाइएको छ । सहभागी टिमहरूलाई पत्राचार गरिसकिएको र आगामी हप्ता टुङ्गो लागिसक्ने क्लबका संरक्षक विकास केसीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ७ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही १३-१३ हजार रूपैयाँ प्रदान गरिने बताइएकाे छ । प्रतियोगिता इटहरी उप-महानगरपालिकाको संयोजन तथा कोसी प्रदेश खेलकुद विकास बोर्डको संरक्षणमा आयोजना हुन लागेको केसीले जानकारी दिए ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।