एसीसी यू-१९ एसिया कप : श्रीलंकासँग नेपाल पराजित

मंसिर २७, २०८२ |खेल ब्युरो
एसीसी यू-१९ एसिया कप : श्रीलंकासँग नेपाल पराजित

काठमाडौं । नेपाल एसीसी यू-१९ एसिया कपमा श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। 

८३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १४ ओभर दुई बलमा २ विकेट मात्रै गुमाएर पुरा गरेको हो। यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरूआत गरेको हो। खेलमा श्रीलंकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपाल २८ ओभर पाँच बलमा अल आउट भएर ८२ रनमा समेटिएको थियो। 

नेपालका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन्। साहिल पटेल १२, निरज कुमार यादव १० र वंश क्षेत्री शून्यमा बाहिरिएका थिए। खेलमा ४३ बल खेल्दै १८ रन जोडेका सिब्रिन श्रेष्ठलाई विग्नेश्वरण आकाशाले क्याचआउट गराएका छन्। 

दिलसाद अली, आशोक धामी, रोशन विश्वकर्मा, युवराज खत्री र विपिन प्रसाद पनि दोहोरो अंक नजोड्दै बाहिरिएका थिए। श्रीलंकाका सेथमिका सेनेविरत्नेले एक मेडन राख्दै पाँच विकेट लिएका थिए। उनले शीर्षदेखि पुछारको क्रमसँगका विकेट लिएर कुनै खेलाडीलाई टिक्न दिएनन्।

जवाफमा नेपालले औसत बलिङ मात्रै गर्न सक्यो। विरन चामुदिता १० र किथमा २ रनमा आउट भएका थिए। त्यसपछि भने नेपालले विकेट लिन सकेन्। दिमान्था महाविथनाले अविजित ३९ रनको योगदान गरेका थिए। त्यसैगरी कविजा गमागेले पनि २४ रनको योगदान गरे। 

नेपालका दयादन्द मण्डलले मात्रै विकेट लिन सके। विपिनप्रसाद शर्माले भने दुईको इकोनोमीमा बालिङ गरे। अब नेपालले सोमबार बंगलादेशसँग खेल्ने तालिका छ। यसअघि मलेसियामा नै आयोजना भएको एसीसी प्रिमियर कपको उपविजेता बनेर नेपाल एसीसी एसिया कपमा पुगेको थियो।