
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २०२५ को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् । लगातार दोस्रोपटक फाइनलमा पुगे पनि सुदूरपश्चिमले उपाधि हात पार्न सकेको छैन । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । सुदूरपश्चिम दुवै सिजन पहिलो क्वाफिफायर्सको विजेताका रूपमा फाइनलमा पुगेको हो । यस सिजनमा पनि उसले लिग चरणमा ६ जित हात पारेको थियो । पहिलो क्वालीफायर्समा विराटनगरलाई पराजित गर्दै दीपेन्द्रसिंह ऐरीको टोली फाइनलमा पुगेको हो ।
गत सिजन पुछारमा रहेर लिग समाप्त गरेको रोहित पौडेलको टोलीले यस सिजन भने सानदार पुनरागमन गर्दै आफूलाई उपाधि भिडन्तसम्म पुर्याएको हो । लिग चरणमा विजयी सुरुवात गरे पनि त्यसपछि लगातार ३ खेल हारेको लुम्बिनीले अन्तिम तीन खेल जित्दै प्लेअफमा स्थान बनाएको थियो । एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेट र दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनी पछिल्ला ५ खेलमा अपराजित छ ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक २ सय ६४ रन बनाएका छन् । उनलाई आरिफ शेख र दीपेन्द्रले पनि साथ दिइरहेका छन् । एसान पाण्डे र भीस सार्कीबाट पनि सुदूरले फाइनलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । बलिङमा अविनाश बोहराले १६ हात पार्दा हर्मित सिंहले १२ र स्कट कुगोलाइनले १० विकेट लिएका छन् ।
लुम्बिनीका लागि ब्याटिङमा कप्तान रोहित पौडेलले २ सय ४२ रन बनाउका छन् भने डार्शी शर्ट र निरोशन डिक्वेला फर्ममा छन् । शेर मल्ल १४ र रुबेन ट्रम्पलमनले १२ विकेट हात पारेका छन् ।
दुवै संस्करण गरी दुई टोली तेस्रोपटक एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुान् । एनपीएलमा हालसम्म लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्न सकेको छैन ।
गत संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४२ रनले हराएको थियो भने यस संस्करण ७ विकेटको सहज जित हात पारेको थियो ।