करातेकी एरिका गुरुङ र उसुका विजय सिँजाली सर्वोत्कृष्ट घोषित

पुस २०, २०८१ |खेल ब्युरो
करातेकी एरिका गुरुङ र उसुका विजय सिँजाली सर्वोत्कृष्ट घोषित

काठमाडौं । करातेकी एरिका गुरुङ र उसुका विजय सिँजाली एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैंजुमा गरेको कार्यक्रममा एरिका महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् ।

एरिकाले गत वर्ष चीनको होङचोउमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाडमा नेपालले २५ वर्षपछि व्यक्तिगततर्फ दोस्रो रजत जितेको हो । यस्तै विजयले साउदी अरेबियाको रियादमा भएको युथ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । दुवैले एक–एक लाख नगद पुरस्कार प्राप्त गरे । 

करातेबाट वर्षको उत्कृष्ट खेलाडी पनि एरिका नै बनिन् । विजयले पनि उसुबाट उत्कृष्ट खेलाडीको अवार्ड जिते । यस्तै पारा एथलिट अफ द इयरको अवार्ड पलेशा गोवर्धनले हात पारिन् ।

संघले १९औं एसियाडमा सहभागी भएका २९ खेलका खेलाडीलाई आज अवार्ड प्रदान गरेको थियो । जसमा क्रिकेटबाट कुशल मल्ल उत्कृष्ट बने । अवार्ड कार्यक्रममा कुशल भने उपस्थित थिएनन् । उनी भोलिदेखि सुरू हुने जय ट्रफी खेल्न पर्सामा छन् । 

फुटबलबाट प्रिती राई उत्कृष्ट बनिन् । उनको अवार्ड आमा ज्ञानमाया राईले लिइन् । भलिबलबाट निरुता ठगुन्ना, गल्फबाट सदभाव आचार्य, कबड्डीबाट मानमती विष्ट, ब्याटमिन्टनबाट प्रिन्स दाहाल, एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ सहित २९ खेलका खेलाडी सम्मानित भएका हुन् । 

यस्तै तेक्वान्दोबाट उत्कृष्ट वर्ष खेलाडी बनेका अश्मिन राउतले प्रतिभावान् खेलाडीको अवार्ड पनि जिते । महिलातर्फ कबड्डीकी मानमतीले यो अवार्ड हात पारिन् । दुवैले समान ५० हजार नगद पुरस्कार जिते । गजराज आदर्श खेल व्यक्तित्व अवार्ड एथ्लेटिक्सका प्रशिक्षक रघु वन्तलाई प्रदान गरिएको थियो । सरिता श्रेष्ठ उत्कृष्ट खेल पत्रकार अवार्डबाट सम्मानित भइन् ।



Enter Kantipur TV HD
Advertisement