काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । फाइनलमा पीएसजीले मोनाकोलाई एक-शून्य गोलले पराजित गरेको हो । पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका हुन् ।
कतारको दोहास्थित स्टेडियम नाइन सेभेन फोरमा गएराति भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो । अनुहारमा चोटका कारण बाहिर रहेका पीएसजी गोलकिपर डोनारुम्मा यसै खेलमार्फत मैदान फर्किए । पीएसजीले तुलनात्मक रुपमा खेलमा नियन्त्रण जमाए पनि गोलका लागि भने अन्तिम समयसम्म कुर्नुपर्यो ।
नवौं मिनेटमा डिजिरे डुवेले पीएसजीलाई अग्रता दिलाउने मौका पाएका थिए । उनको प्रहार बारमा लाग्यो । ली काङको प्रयासमा मोनाको गोलकिपर फिलिप बाधक बने । उस्मान डेम्बेले र भिटिन्ह्याले पनि फिलिपलाई परिक्षण गरेका थिए । सन् २०१० यता पहिलो पटक फ्रेन्च सुपर कप फाइनलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो । लुइसु इनरिकेको टिमले २७ अवसर सिर्जना गर्दा ९ पटक टार्गेटमा राखेको थियो ।
तर डेडलक तोड्न सकेको थिएन । इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई वर्षको पहिलो उपाधि दिलाए । कीर्तिमानी १३ पटकको विजेता पीएसजीले गत सिजनको लिग वान उपविजेता मोनाकोसँग प्रतिस्पर्धा गरेको हो । अघिल्लो वर्ष लिग वान र सुपर कप दुवै पीएसजीले नै जितेको थियो ।
पछिल्लो १२ वर्षमा पीएसजी ११ पटक सुपर कप च्याम्पियन बनेको छ । चार पटकको विजेता मोनाको भने सन् २००० यता उपाधिविहिन छ । २०१७ र २०१८ मा उपविजेता बन्दा उसले दुवै पटक पीएसजीसँग हार बेहोरेको थियो । खेलपछि पीएसजी प्रशिक्षक इनरिकेले उच्चस्तरीय खेलाडी भएको मोनाकोविरुद्धको खेल कठिन रहेको प्रतिक्रिया दिए । आफ्ना खेलाडीको तारिफ गरेका इनरिकेले वर्षको सुरुवात सही ढंगबाट भएको उल्लेख गरे ।