हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाख रुपैयाँमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भीभीआईपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाले जानकारी दिनुभयो ।
क्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डीपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उहाँले बताउनुभयो । क्रिकेट मैदान निर्माणका लागि नौ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पीएल एचकेसी जेभीले ठेक्का लिएको थियो ।
उहाँका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले जानकारी दिनुभयो ।
गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गर्नुभएको थियो । सचिव खड्कासहित प्रवक्ता छुम्बी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गर्नुभएको थियो ।