लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको २-२ गोलको बराबरी

पुस २२, २०८१ |खेल ब्युरो
 लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको २-२ गोलको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल दुई-दुई गोलको रोमाञ्चक बराबरीमा सकिएको छ । अमाद डियालोले, शीर्ष स्थानको लिभरपुलविरुद्ध युनाइटेडलाई अंक दिलाएका हुन् ।

खराब फर्मबाट गुज्रिरहेको युनाइटेड लगातार चौथो हारबाट जोगिने लक्ष्यसहित मैदान उत्रिएको थियो । युनाइटेडले सन् १९७९ यता लगातार चार हार बेहोरेको थिएन । नयाँ प्रशिक्षक रुवेन आमोरिमको नेतृत्वमा लय समात्न नसकिरहेको युनाइटेडले गएराति एनफिल्डमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो ।

पहिलो हाफमा कुनै गोल हुन सकेन । दुवै टिमले मौका पाए पनि सदुपयोग गर्न सकेनन् । ५२औँ मिनेटमा लिजान्द्रो मार्टिनेजले ब्रुनो फर्नान्डेजको सहयोगमा गोल गरेपछि युनाइटेडले घरेलु टिमविरुद्ध अग्रता बनायो । तर, लिभरपुलले खेलमा फर्कन धेरै समय लगाएन । ५९औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल एक-एकको बराबरीमा पुर्‍याए । ७०औँ मिनेटमा युनाइटेडका मतायस दी लिख्तबाट ह्यान्डबल भएपछि लिभरपुलले पेनाल्टी पायो ।

मोहम्मद सलाहले गोलमा परिणत गरे । प्रिमियर लिगमा उनको यो एक सय ७५औँ गोल हो । सलाहले थिएरी अनरीसँग गोल संख्या बराबरी गरेका छन् । युनाइटेड अर्को निराशाजनक नतिजातर्फ उन्मुख भइरहँदा ८०औँ मिनेटमा डियालोले गोल गरेपछि युनाइटेडले महत्वपूर्ण अंक लिन सफल भएको हो । अन्त्यमा हेरी मग्वावेरले युनाइटेडलाई जीतको नजिक पुर्‍याएका थिए तर, उनको प्रहार बाहिरियो ।

तालिकाको १३औँ स्थानमा रहेको युनाइटेडको २० खेलबाट २३ अंक छ । पहिलो स्थानको लिभरपुलको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानको आर्सनलको २० खेलबाट ४० अंक छ ।



Enter Kantipur TV HD
Advertisement