च्याम्पियन्स ट्रफीको उद्घाटन खेल पाकिस्तान र न्युजिल्यान्डबीच हुने

पुस १०, २०८१ |खेल ब्युरो
च्याम्पियन्स ट्रफीको उद्घाटन खेल पाकिस्तान र न्युजिल्यान्डबीच हुने

काठमाडौं । पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार फेब्रुअरी १९ मा हुने प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान र न्युजिल्यान्डबीच हुनेछ ।

भारतका खेल भने दुबईमा हुने छन् । ट्रफीको सेमिफाइनल मार्च ४ र ५ मा हुनेछ । मार्च ९ मा हुने फाइनल खेल पाकिस्तान र दुबईमध्ये एक ठाउँमा हुनेछ । भारत फाइनलमा पुगे फाइनल खेल दुबई र नपुगे पाकिस्तानमा हुनेछ । समूह ‘ए’मा आयोजक पाकिस्तानसँगै भारत, बंगलादेश र न्युजिल्यान्ड र समूह ‘बी’मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन् ।

१९ दिनसम्म चल्ने प्रतियोगितामा १५ खेल हुने छन् । १० खेल पाकिस्तानमा हुने छन् । ८ वर्षपछि च्याम्पियन्स ट्रफी आयोजना हुन लागेको हो । यसअघि २०१७ मा पाकिस्तानले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । सन् १९९६ पछि पाकिस्तानले पहिलो पटक आईसीसीको प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पाकिस्तानले २०२८ मा महिला टी-ट्वेन्टी विश्वकप पनि आयोजना गर्ने छ । भारत र पकिस्तानको राजनीतिक सम्बन्धका कारण च्याम्पियन्स ट्रफी जस्तै महिला टी-ट्वेन्टी विश्वकप पनि हाइब्रिड मोडेलमा हुने छ ।