पोखरा । पोखराको सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताको रकम आरोपीहरुबाटै भराइ दिन माग दाबी गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार र आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा रकम अपचलन गर्ने आरोपीहरुबाटै पीडितको १ अर्ब १४ करोड भराउनुपर्ने दाबीी गरिएको हो । अभियोगपत्रमा ११ सय ५६ जना पीडितको रकम आरोपीबाटै भराउनुपर्ने उल्लेख छ ।
सूर्यदर्शन सहकारीमा पैसा डुबेको भन्दै पहिलो पटक १ हजार ३५ र दोस्रो चरणमा १ सय २१ जना पीडितले प्रहरीमा जाहेरी दिएका थिए । सहकारीको १ अर्ब ५१ करोड हिनामिना भएको र पीडितको जाहेरीअनुसार १ अर्ब १४ करोड फिर्ता गराउनुपर्ने अभियोगपत्रमा उल्लेख छ ।
दैनिक ज्याला मजदुरी गर्नेदेखि पेन्सन जम्मा गर्ने पूर्वसरकारी कर्मचारीसम्मले वचत फिर्ताका लागि जाहेरी दिएका थिए । पीडितहरुले अनुसन्धान र कारबाहीसहित आफ्नो रकम फिर्ताको माग गर्दै प–क पटक आन्दोलनसमेत गर्दै आएका छन् । अहिले दोस्रो चरणको अनुसन्धानपछि अदालता पुगेको अभियोगपत्रमा माग दाबी गरिए अनुसार प्रतिवादी बनाइएका आरोपीहरुबाटै पीडितको रकम भराउनुपर्ने छ ।
सरकारले पनि सहकारीको समस्या समाधान गर्न प्राधिकरण गठन गर्ने अध्यादेश ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट पारित भएको अध्यादेश राष्ट्रपतिले जारी गरे पीडितको पाँच लाखसम्म रकम तत्काल फिर्ता गराउने बाटो खुल्ने छ ।