ललित स्मृति एन्फा यू- १८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ललित स्मृति एन्फा यू- १८ युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं । ललित स्मृति एन्फा अन्डर-१८ युथ लिगको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । लिगमा अन्तिम चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको एनआरटी भन्दा सात अंक बढी रहेकाले पुलिस च्यम्पियन बनेको हो ।

आज सम्पन्न खेलमा चर्च बोइजलाई २-१ गोलअन्तरले हराउँदै पुलिस एक खेल अगावै च्याम्यियन बनेको हो । यससँगै पुलिस तेस्रो पटक युथ लिगको च्याम्पियन बन्यो । यसअघि आर्मी र ब्रिगेड ब्वाइजले समान दुई पटक लिग उपाधि जितेका थिए । खेलाडीका रुपमा भोलानाथ सिलवालले पुलिसबाट थुप्रै उपाधि जिते पनि प्रशिक्षकका रुपमा भने उनको यो पहिलो उपाधि हो ।

प्रतियोगितामा पुलिसले शानदार सुरुवात गरेको थियो । तर साफ अन्डर- १९ च्याम्पियनसिप, महिला लिग, दशैं, तिहार र छठ तथा साफ महिला च्याम्पियनसिपका कारण ४८ खेलपछि रोकिएको प्रतियोगिता कात्तिक २८ गतेदेखि सुरु भएको थियो । ब्रेक पछि पुलिसले लगातार ३ खेल हार्दै खराब सुरुवात गरेको थियो । तर त्यसपछि कमब्याक गर्दै पुलिस च्याम्पियन बनेको हो ।

चर्च बोइजविरुद्ध विक्रम गौतमले खेल सुरु भएको २८ सकेन्डमै पुलिसलाई सुरूआती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा कप्तान सुवास बमले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा निमा पाख्रिले गोल गरे पनि चर्च बोइजलाई पर्याप्त बनेन ।

जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ। पुलिसले लिगको अन्तिम खेल एनआरटीसँग खेल्ने छ। एनआरटीले ४१ र संकटाले ३९ अंक जोडेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.