काठमाडौं । नेपाल इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन २०२४ अन्तर्गत प्रिन्स दाहाल र रसिला महर्जनको जोडी मिक्स डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनल खेलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनलाई सोझो सेटमा हराउँदै प्रिन्स र रसिला अन्तिम चारमा प्रवेश गरेका हुन् ।
क्षितिज र शोभा विरुद्ध नेपालको नम्बर एक जोडीले प्रभावशाली प्रदर्शन गर्यो । पहिलो सेट २१–१११ ले आफ्नो पक्षमा पारेका प्रिन्स र रसिलाले दोस्रो सेट २१–१२ ले जिते । कोर्ट नम्बर २ मा क्षितिज र शोभालाई पराजित गर्न यो जोडीले केवल २२ मिनेटको समय लगायो । प्रिन्स र रसिला विरुद्ध क्षितिज र शोभा स्म्यास र डिफेन्समा कमजोर देखिए । नेपाली जोडीले अब फाइनल प्रवेशका लागि भारतीय जोडी हेमा नागेन्द्र बाबु र सुप्रिया श्रीललिताको सामना गर्ने छन् ।
भारतीय जोडीले अमेरिकाका प्याट्रिक चे र नतालीलाई दुई सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । मेन्स र विमेन्स सिङगलमा नेपालको चुनौती पहिलो चरणबाटै समाप्त भइसकेको छ ।