काठमाडौं । नेपाल ओलम्पिक कमिटी-एनओसीको यही पुस १३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । एनओसीको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेजबहादुर गुरुङ र महासचिव निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका हुन् । अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षका प्रत्यासीहरु जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य र कबड्डी संघका अध्यक्ष तुलसी थापाले उम्मेदवारी फिर्ता लिएपछि सात उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित हुनेमा ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, अशोकरत्न बज्राचार्य र चतुरानन्द राज वैद्य छन् । यस्तै महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजीबहादुर श्रेष्ठको मात्र उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध भएका छन् । ३ सचिवमा रमेशप्रसाद शिवाकोटी, भीमसिंह गुरुङ र रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमवार उम्मेदवारी दर्ताका लागि समय तोकिए पनि सातदोबाटोस्थित एनओसी भवनमा प्रहरीले प्रवेश रोक लगाएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल-आईओसीसँगको समन्वय तथा निर्देशनमा अनलाइनमार्फत् मनोनयन दर्ता गरिएको हो । यसैबीच, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अदालतको आदेश विपरीत र राज्यको नियम कानुन उल्लंघन गरी निवार्चन गराउनु अदालतको मानहानी हुने बताउनु भएको छ । ऐन नियमावली र विधानविपरीत निर्वाचनमा नजान खेल संघहरुलाई उहाँले सचेत गराउनु भएको छ ।
उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटीको विधान संशोधन गर्ने साधारण सभा रोक्न अन्तरिम आदेश दिएको थियो । एनओसीका अर्का उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले उच्च अदालत पाटनको आदेशको अवज्ञा, राष्ट्रिय खेलकुद परिषदको पुस ४ गतेको पत्रको उलंघन र नेपाल सरकार युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेश विपरित हुने भएकोले निर्वाचन प्रकृयामा भाग नलिने जानकारी दिनुभएको छ ।