काठमाडौं । नेपाली कांग्रेसमा १५ औं महाधिवेशन लक्षित गतिविधि सुरु हुँदा त्यसको प्रभाव भ्रातृ संगठनमा पनि परेको छ । कतिसम्म भने विद्यार्थी संगठनको महाधिवेशनलाई लिएर कित्ता परिवर्तनदेखि समानान्तर गतिविधिसम्म सञ्चालन भइरहेका छन् । रोचक त के छ भने सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा एकातिर उभिएका छन् भने पार्टीको आगामी महाधिवेशनमा सभापतिका आकांक्षी मानिएका नेता शेखर कोइराला समूह अर्कोतिर उभिएको छ ।
नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत नेपाली कांग्रेसका भातृ संगठनहरु महाधिवेशनको तयारीमा छन् । माउ पार्टी नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन आगामी चैत मसान्तभित्र गरिसक्न समयसीमा सहित फरक-फरक निर्देशक समिति बनाएको छ ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई समेटेर निर्देशक समिति बनाए पनि भातृ संस्थाहरुको विवाद समानान्तर गतिविधि सञ्चालनसम्म पुगेको छ । केन्द्रीय प्रतिनिधिहरू तोक्ने विषयमा कुरा नमिल्दा संस्थापन र संस्थापनइतर समूहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नेवि संघको १२ औं महाधिवेशन गर्न सदस्यता वितरण सहजीकरण गर्न भन्दै केन्द्रीय प्रतिनिधि तोकेका छन् ।
नेविसंघ सभापति दुजाङ शेर्पाले गत पुस २ गते सदस्यता वितरणका लागि भन्दै एक सय १३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोक्नुभएको थियो । तर नेता शेखर कोइरालानिकटका नेताहरुले भने केन्द्रीय प्रतिनिधि तोक्दा आफूहरूसँग छलफल नगरिएको र एकलौटी गरेको आरोपसहित छुट्टै केन्द्रीय प्रतिनिधि तोकेका छन् । कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले पुस ५ गते विज्ञप्ति निकालेर ७७ वटा क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोक्नुभएको हो ।
नेविसंघमा संस्थापन पक्षले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापानिकट नेविसंघ केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिमा खटाएको थियो । त्यसको काउण्टरमा कोइरालानिकटले बेग्लै प्रतिनिधि खटाएपछि विवाद झन् बढेको छ । केन्द्रीय प्रतिनिधिहरू सदस्यता वितरण र इकाइ अधिवेशन गर्न क्याम्पसहरुमा पुग्न थालेका छन् । तर एकै क्याम्पसमा दुई केन्द्रीय प्रतिनिधि पुग्न थालेपछि को आधिकारिक हो भन्नेमा विद्यार्थी नेताहरु नै अलमल छन् ।
कांग्रेसले चैतभित्रै नेविसंघको महाधिवेशन गर्न निर्देशक समिति पनि बनाएको छ । तर त्यो समितिले पनि संगठनमा देखा परेका विवाद समाधान गर्न सकेको छैन। विवाद झन् बढ्दो छ । नेताहरु भने पार्टीमा विधानसम्मत अनुसार काम नगर्दाको परिणाम भातृसंस्थामा समस्या बल्झिएको बताउछन् ।
नेविसंघमा ८ वर्ष देखि नियमित महाधिवेशन हुन सकेको छैन । पार्टीले महाधिवेशनको जिम्मेवारीसहित तदर्थ समिति बनाउँदै आएको छ । नेविसंघ जस्तै कांग्रेसले १० भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन गरेको छ । तर अहिलेसम्म कतिपय निर्देशक समितिको बैठकसमेत बस्न सकेको छैन । पछिल्लो समय शेखर कोइराला समूहले समानान्तर गतिविधि बढाएसंगै पार्टीभित्रको विवाद झन् बल्झन थालेको छ ।