काठमाडौं । खेलाडी ट्रान्सफरमा सहजताका लागि युरोपेली अदालतले गरेको निर्देशनलाई फिफाले विनियम बनाएर लागू गर्ने भएको छ ।
युरोपियन युनियनको कोर्ट अफ जस्टिसले खेलाडीको स्वतन्त्र सरुवा जटिल हुने गरेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ध्यान केन्द्रित गरेको थियो । गत अक्टोबरमा अदालतले फिफाका नियम युरोका खेलाडी सरुवाको नियमसँग बाझिएको र यसले स्वतन्त्र सरुवाको सिद्धान्तलाई असर गरेको बताएको थियो ।
उसले चेल्सी, रियल मड्रिड, पिएसजी र आर्सनलका खेलाडी लिसाना डिएराको उदाहरणसँगै यस्तो बताएको थियो । नयाँ नियमले कसैले सम्झौता तोडेको भए त्यसले क्षतिपूर्ति भराउने काम गर्नेछ । त्यसैगरी सम्झौता उल्लङ्घन गर्न प्रलोभन देखाएको प्रमाणित भए पनि कारबाही हुने भनिएको छ । अहिले थप्न लागिएको नियम भने विशेष सन्दर्भमा मात्रै लागू हुने उल्लेख गरिएको छ ।
सम्झौतामा उल्लेखित कुनै पनि पक्षले आफूले स्पष्टीकरण दिन नसके यसले असर गर्नेछ । यता फिफाले भने यस विषयमा छलफल गर्नका लागि आफ्ना सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ । तर खेलाडीको संगठन फिप्रोले भने यो विषयमा छलफल नगर्ने बताएको छ ।
डियाराले सन् २०१४ मा तलबमा कटौति गरिएको भन्दै लोकोमोटिभ मस्को छोडेका थिए । तर क्लबले रिलिज नगरिदिँदा उनी अर्को क्लब जान पाएनन् । फिफाले सो क्लबलाई एक करोड १० लाख अमेरिकी डलर तिर्न निर्देशन दिएको थियो । यसै विषयमा परेको निवेदनको लामो अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो ।