काठमाडौं । विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबलर लियोनल मेसीले मेजर लिग सकर (एमएलएस)को ‘मोस्ट भ्याल्युएबल प्लेयर अवार्ड’ जितेका छन् । इन्टर मायामीलाई पहिलो पटक ‘सपोर्टर्स शिल्ड’ उपाधि जिताएका मेसी सन् २०२४ का लागि एमएलएस, एमभीपी घोषित भएका हुन् ।
बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का पूर्व स्ट्राइकर मेसीले, मायामीलाई नियिमति सिजनमा किर्तिमानी अंक तालिकामा पुर्याएका थिए । मायामीले ७४ अंक जोड्दै शीर्ष स्थानमा सिजन टुंग्याएको थियो । तर प्ले अफको पहिलो चरणमा भने पराजित हुन पुग्यो ।
मेसीले क्लबका लागि यो सिजनमा १९ खेलमा २० गोल र १६ एसिस्ट गरेका थिए । मायामीको इतिहासमा, एमएलएसको व्यक्तिगततर्फ सबैभन्दा प्रतिष्ठित अवार्ड जित्ने मेसी पहिलो हुन् । पत्रकार, खेलाडी र टेक्निकल स्टाफले लिगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीलाई दिइने यस अवार्ड विजेता चुन्ने गर्छन् ।
मेसीले कोलम्बस क्रिउका चुचो हर्नान्डेजलाई पछि पार्दै यो उपाधि जितेका हुन् । ३७ वर्षीय मेसीले ३८.४३ र चुचोले ३३.७ प्रतिशत मत पाएका थिए । मायामीकै टिममेट लुइस स्वारेज, पर्टल्यान्ड टिम्बर्सका मिडफिल्डर इभान्डर , डीसी युनाइटेडका क्रिस्टियन बेन्टेक पनि प्रतिस्पर्धामा थिए । विश्वकप विजेता मेसी आठ पटकका बलुन डी ओर विजेता हुन् ।