चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै कर्णाली

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै कर्णाली
तस्वीर : चिरायु शाक्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ । सुस्त सुरूआत गरेको चितवनलाई रवि बोपारा र कुशल मल्लको साझेदारीले सम्हालेको थियो । बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे ।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्रिविको पिचमा बिहान ब्याटिङ गर्नुपर्दा चितवनले संघर्ष गर्‍यो । सोमपाल कामीले ओपनर लुक बेन्केन्स्टाइनलाई खाता खोल्न दिएनन् । अर्का ओपनर दीपक बोहरा पनि ८ रनमै नन्दन यादवको बलमा आउट हुँदै मैदानबाट बाहिरिएपछि चितवनको इनिङ कमजोर बनेको थियो ।

एक समय २२ रनमा तीन विकेट गुमाएको चितवनलाई कुशल र बोपाराले अघि बढाएका थिए । यी दुईले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । मक्सूदले २३ रन बनाएका कुशललाई आउट गर्दै साझेदारी ब्रेक गरे । लफ्टी इटनले नौ रन जोड्दा सोहेल तन्विरले खाता खोल्न सकेनन् ।

बोपाराले अन्तिम समयसम्म क्रिजमा रहेर ४० बलमा ५९ रनको योगदान गरे । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध पनि ५१ रन प्रहार गरेका थिए । शरद भेषावकर ६ रन अविजित रहे । र अन्ततः चितवनले २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रनको योगफल बनायो ।

कर्णालीका लागि विपीन शर्माले तीन र जीसन मक्सूदले दुई विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement