राउन्ड अफ ३२ ले हल्लायो विश्व फुटबलको शक्ति सन्तुलन

असार १६, २०८३ |अभय बस्नेत
राउन्ड अफ ३२ ले हल्लायो विश्व फुटबलको शक्ति सन्तुलन

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ ले फुटबलको स्थापित शक्ति सन्तुलनलाई नै पूर्ण रूपमा हल्लाइदिएको छ । 

कुनै समयका अपराजित मानिने जर्मनी र नेदरल्यान्ड्स जस्ता फुटबलका 'पावरहाउस'हरू यस पटक साना राष्ट्रहरू सामु घुँडा टेक्न बाध्य भएका छन् । पेनाल्टी सुटआउटको नाटकीय मोडमा जर्मनीलाई पाराग्वेले र नेदरल्यान्ड्सलाई मोरक्कोले घर पठाइदिएपछि विश्वकपको इतिहास नै नयाँ ढंगले लेखिने संकेत देखिएको छ । 

उता जापानको कडा चुनौती पन्छाउँदै ब्राजिलले अन्तिम समयमा गोल गरेर जेनतेन आफ्नो यात्रा जारी राखे पनि यो विश्वकपले अब कोही पनि सुरक्षित छैन भन्ने स्पष्ट सन्देश दिएको छ । ४८ टोलीको यो नयाँ ढाँचाले फुटबलमा साना राष्ट्रहरूको विकासले कसरी दिग्गजहरूलाई संकटमा पारेको छ त ?

जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ बाट फुटबल जगतमा एउटा यस्तो सिलसीलाको जन्म भएको छ, जसले विश्व फुटबलको स्थापित शक्ति सन्तुलनलाई पूर्ण रूपमा हल्लाइदिएको छ । नकआउटक चरणमा देखिएका अप्रत्याशित नतिजाले यो प्रमाणित गरेका छन् कि मोर्डन फुटबलमा अब कुनै पनि टोलीलाई 'कमजोर' मान्ने गल्ती महँगो सावित हुन सक्छ । 

विश्वकपको इतिहास नै पुनर्लेखन भइरहेको यो घडीमा फुटबलका दिग्गजहरू संघर्षरत छन् भने नयाँ शक्तिको उदय भइरहेको छ । यस उथलपुथलको सुरुवात ह्युस्टनबाट भयो, जहाँ पाँच पटकको विश्व विजेता ब्राजिलले जापानको 'सामुराई ब्लु' विरुद्ध हारको संघारबाट जोगिन ठूलै संघर्ष गर्नुपर्‍यो । 

खेलको २९औं मिनेटमा जापानका काइसु सानोले ब्राजिलको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै गोल गरेपछि ब्राजिल खेलमा पछि पर्यो । ब्राजिलका मिडफिल्डर क्यासेमिरोले ५६औं मिनेटमा बराबरी गोल फर्काए पनि जापानको डिफेन्स र गोलकिपर जायोन सुजुकीको उत्कृष्ट प्रदर्शनले खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिन्थ्यो । तर, खेलको अन्तिम मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गरेपछि ब्राजिल ठूलो संकटबाट क्षणिक रुपमा भएपनि मुक्त भयो । 

यो जितले ब्राजिललाई अन्तिम १६ मा पुर्‍याए पनि यसले स्थापित टोलीहरू कति असुरक्षित छन् भन्ने स्पष्ट पारेको छ । यस्तै अर्को ठूलो झट्का जर्मनीले व्यहोर्नुपर्‍यो । सले पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुनुपर्यो । बोस्टनमा भएको यस खेलमा जुलियो एन्किसोले पाराग्वेलाई अग्रता दिलाएका थिए भने काई हाभर्ट्जले जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । 

अतिरिक्त समयको १०२औं मिनेटमा जोनाथन टा ले गरेको गोललाई भीएआरले रद्द गरिदिएपछि खेल पेनाल्टीमा पुगेको थियो । विश्वकपको इतिहासमा जर्मनीले पेनाल्टी सुटआउट हारेको यो पहिलो पटक हो । हाभर्ट्ज, निक भोल्टेमाडे र जोनाथन टा पेनाल्टी चुकाएपछि जर्मनीको यात्रा लज्जास्पद रूपमा अन्त्य भयो । 

सन् २०१४ को विश्व विजेता जर्मनीका लागि यो लगातार तेस्रो विश्वकपको असफलता हो, जसले जर्मन फुटबलको खस्किँदो स्तरलाई उजागर गरेको छ । यही नियति नेदरल्यान्ड्सले पनि भोग्नुपर्‍यो । मोन्टेरेमा भएको खेलमा कोडी गाक्पोले ७२औं मिनेटमा गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर, ९१औं मिनेटमा मोरक्कोका इस्सा डिओपले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समय र पछि पेनाल्टीमा पुग्यो । 

मोरक्कोका गोलकिपर यासिन बोनोले क्रिस्टेन्सियो समरभिलको पेनाल्टी रोकेपछि स्माइल साइबारीले निर्णायक गोल गर्दै नेदरल्यान्ड्सलाई प्रतियोगिताबाट बाहिर पठाइदिए । मोरक्कोको यो जितले डच टोलीको इतिहासकै सबैभन्दा चाँडो बाहिरिने रेकर्ड बनाइदियो ।

यी परिणामहरूले के स्पष्ट पारेका छन् भने मोर्डन फुटबलमा अब कुनै पनि खेल सहज छैन । साना मानिएका राष्ट्रहरू रणनीतिक र शारिरिक रूपमा ठूला राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छन् । स्पोर्टस् साइन्स, अत्याधुनिक कोचिङ र खेलाडीहरूको विकासमा गरिएको लगानीले युरोप र दक्षिण अमेरिका बाहिरका टोलीलाई पनि शक्तिशाली बनाएको छ । 

मोरक्को र पाराग्वे जस्ता टोलीको अनुशासित रक्षापंक्ति र काउन्टर अट्याक गर्ने क्षमताले परम्परागत फुटबल शक्तिलाई दबाबमा राखेको छ । फिफाको यो नयाँ ४८-टोलीको ढाँचाले विश्वकपमा थप अनिश्चितता र उत्साह थपेको छ । पहिलेको तुलनामा धेरै टोलीहरू सहभागी हुँदा फुटबलको शक्ति विश्वभर सन्तुलित हुँदै गइरहेको पनि देखिन्छ । 

ठूला टोलीहरूको बहिर्गमनले नकआउट तालिका पूर्णरूपमा खुला भएको छ । अब मोरक्को, पाराग्वे र क्यानडा जस्ता टोलीले ऐतिहासिक सफलता हात पार्ने सम्भावना बढेको छ । विश्व फुटबलमा आएको यो साना टोलीको नयाँ लहरले २०२६ को विश्वकपलाई इतिहासकै सबैभन्दा अप्रत्याशित र रोमाञ्चक प्रतियोगिता बनाएको छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।