
काठमाडौं । इङल्यान्ड टेस्ट टिमका कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै एउटा युगको अन्त्य गरेका छन् ।
न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्ट चलिरहँदा मैदानमै बलिङ गरिरहेका बेला आएको यो निर्णय अझ नाटकीय बन्यो । आधुनिक क्रिकेटका सबैभन्दा प्रभावशाली अलराउन्डरमध्ये एक स्टोक्सको विदाइसँगै इङल्यान्ड क्रिकेट नयाँ संक्रमणकालतर्फ प्रवेश गरेको विश्लेषण गरिएको छ ।
इङल्यान्ड टेस्ट टिमका कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दा न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्ट जारी थियो । विशेष कुरा के छ भने, उनले रिटायरमेन्ट घोषणा गरेको समाचार बाहिरिँदा उनी मैदानमै बलिङ गरिरहेका थिए र लगत्तै ज्याक फक्सलाई आउट गरेका थिए ।
क्रिस्टचर्चमा १९९१ जुन ४ मा जन्मिएका स्टोक्स इङल्यान्ड क्रिकेट इतिहासका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् । करियरको सुरुवातमा उनले विस्फोटक खेलाडीको रूपमा आफ्नो परिचय बनाएका थिए । इडेन गार्डनमा सम्पन्न २०१६ टी-२० विश्वकपको फाइनलमा अन्तिम ओभरमा चार छक्का बेहोरेपछि वेस्ट इन्डिजलाई उपाधि सुम्पिँदा उनको क्रिकेट करियर समाप्त भएको बताइएको थियो ।
तर, त्यो घटनाबाट पाठ सिक्दै उनले आफूलाई आधुनिक ब्रिटिस खेलकुदको प्रमुख व्यक्तित्वका रुपमा स्थापित गरे । इङल्यान्डले विश्वकप जित्नु विरलै हुने उपलब्धि हो । स्टोक्सले भने दुई पटक यो उपलब्धि हासिल गरेका छन् । २०१९ को एकदिवसीय विश्वकप र २०२२ को टी-२० विश्वकप ।
चाहे उनी ब्याटिङ गरिरहेका हुन् वा बलिङ स्टोक्स मैदानमा हुँदा आशा सधैं जीवित हुन्थ्यो । २०१९ विश्वकप फाइनलमा न्यूजिल्यान्डविरुद्ध ८४ रनको अविजित इनिङस खेल्दै स्टोक्सले खेललाई सुपर ओभरसम्म पुर्याएका थिए । सुपर ओभरमा पनि दुवै टिमले समान १५-१५ रन बनाएपछि इङल्यान्ड बाउन्ट्री काउन्टका आधारमा च्याम्पियन बनेको थियो ।
क्रिकेटको जन्मदाता इङल्यान्डका लागि यो पहिलो ओडीआई विश्वकप उपाधि थियो । २०२२ टी-२० विश्वकप फाइनलमा पाकिस्तानविरुद्ध नटआउट ५२ रन जोड्दै स्टोक्सले इङल्यान्डलाई यस प्रारूपमा पनि विश्व च्याम्पियन बनाएका थिए ।
कप्तानका रूपमा स्टोक्स अझ उत्कृष्ट साबित भए । उनी कप्तान बन्ने पहिलो रोजाइका खेलाडी भने थिएनन् । तर, उत्कृष्ट व्यवस्थापन क्षमता र नवीन रणनीतिका कारण उनले सफललतापूर्वक इंग्लिस टोलीको नेतृत्व गरे । ४४ टेस्टमा २४ जित हासिल गर्दै उनले इङल्यान्डका सफल टेस्ट कप्तानमध्ये एकका रुपमा आफूलाई स्थापित गर्न सफल भए ।
उनले कप्तानी सम्हाल्दा इङल्यान्ड क्रिकेट कमजोर अवस्थामा थियो । त्यसक्रममा टिमले १७ टेस्टमा मात्र एक जित हात पारेको थियो । त्यसपछि मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमसँग मिलेर उनले टोलीमा नयाँ ऊर्जा भरे । ‘ब्यााजबल’ शैलीले टेस्ट क्रिकेटलाई आक्रामक, रोमाञ्चक र दर्शकमैत्री बनायो र रेड बल क्रिकेटलाई नयाँ दृष्टिकोण दियो ।
यद्यपि, कप्तानका रूपमा उनले एसेज जित्ने सपना पूरा गर्न सकेनन् । उनले १ सय २२ टेस्टमा १४ शतक र ३७ अर्धसतकसहित ७२ सय ७३ रन बनाएका छन् भने २ सय ५२ विकेट लिएका छन् । १ सय १४ वानडेमा ५ शतकसहित ३४ सय ६३ रन र ७४ विकेट तथा ४३ टी-२० अन्तर्राष्ट्रियमा ५ सय ८५ रन र २६ विकेट लिएका छन् ।
लड्र्समा न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्टकै क्रममा उनले रिटायरमेन्टको सोच बनाइसकेका थिए । चेल्सीको नाइटक्लबसँग जोडिएको विवाद र त्यसपछि आएका प्रतिक्रियाले उनको निर्णयलाई थप तीव्र बनायो । स्टोक्सको विदाइसँगै इङल्यान्डले पछिल्ला वर्षहरूमा धेरै अनुभवी खेलाडी गुमाइसकेको छ ।
जेम्स एन्डरसन, स्टुअर्ट ब्रोड, मोइन अलीजस्ता खेलाडी पहिले नै रिटायर भइसकेका छन् । जो रुट मात्र यस्ता खेलाडी हुन् जससँग एसेज जितेको अनुभव छ । यस्तो अवस्थामा टिमको नयाँ कप्तान को हुने भन्ने प्रश्न उठेको छ । स्टोक्सले ह्यारी ब्रुकलाई समर्थन गरेका छन्, तर उनले आफूलाई टेस्ट टिमको नेतृत्वका लागि पूर्णरूपमा तयार भएको सावित गर्नुपर्नेछ ।