काठमाडौं । नेपालकी चर्चित ट्रेल धावक सुनमाया बुढा अहिले विश्व ट्रेल दौडको प्रमुख नाममध्ये एक बनेकी छिन् । जुम्लाको विकट पातरासी गाउँको ओराली-उकालीहरू नै सुनमायाको प्रशिक्षण केन्द्र थिए । जहाँबाट सुरु भएको एउटा यात्राले आज विश्व ट्रेल रनिङमा तहल्का मच्चाएको छ। सुनमाया बुढाले विश्वका कठीन मानिने ट्रेल रेसहरूमा नेपालको झण्डा मात्र फहराइनन्, ११ वर्ष पुराना रेकर्डहरू समेत तोड्न सफल भईन् । तर उनको स्वागतमा राज्यको उपस्थिति देखिएन ।
सन् २०२६ जुन २७ मा इटालीमा भएको १२० किलोमिटरको लाभारेडो अल्ट्रा ट्रेलमा सुनमायाले १३ घण्टा ३३ मिनेट १८ सेकेण्डमा दौड पूरा गरिन् । यो केवल एउटा जित मात्र नभई, ११ वर्षदेखि अटुट रहेको कीर्तिमानलाई समेत उनले तोडिदिएकी थिइन् । तर, यति ठूलो विश्व रेकर्ड राखेर काठमाडौँ ओर्लँदा उनलाई स्वागत गर्न न त राज्यको उपस्थिति थियो, न त मिडियाको ठूलो भीड नै ।
नेपालमा फुटबल र क्रिकेटजस्ता खेलहरूले राज्यको ध्यान सजिलै खिच्छन्। प्रधानमन्त्रीले अन्य पदक विजेताहरूलाई लाखौँको पुरस्कार वितरण गरिरहँदा, सुनमायाजस्ता 'विश्व च्याम्पियन'हरू भने प्रायः ओझेलमा पर्छन् । यद्यपि सन् २०२३ मा राष्ट्रिय खेलकुद परिषद्ले यस खेललाई औपचारिक मान्यता दिएको छ, तर अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बनाउने यी खेलाडीहरू अझै पनि व्यक्तिगत र विदेशी संस्थाको सहयोगमा निर्भर हुनुपर्ने बाध्यता छ ।
सुनमायाको सफलताको सूची लामो छ। दक्षिण अफ्रिकामा 'अल्ट्रा-ट्रेल केप टाउन १०० किमी' जितेर उनी 'वर्ल्ड ट्रेल मेजर्स' उपाधि जित्ने पहिलो नेपाली धावक बनिन् । त्यस्तै, हङकङ १०० मा पनि उनले नयाँ कोर्ष रेकर्ड राखिन् । एसिया प्यासिफिक एड्भेन्चर ग्रुप र अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहयोगले उनलाई व्यावसायिक रूपमा अघि बढ्न मद्दत पुर्याएको छ ।
सन् २०३२ को ओलम्पिकमा ट्रेल रनिङ समावेश हुने चर्चा चलिरहँदा सुनमाया नेपालका लागि पदकको सबैभन्दा ठूलो आशा बनेकी छन् । यदि राज्यले बेलैमा चासो दिने र यस्ता प्रतिभालाई संरक्षण गर्ने हो भने, जुम्ला मात्र हैन नेपालका कुना-कन्दराबाट अझै धेरै सुनमायाहरू विश्व मञ्चमा उदाउनेछन्।