धन्यवाद, लुका मोड्रिच ! शरणार्थी बालकदेखि विश्व फुटबलका महानायकसम्म

असार १९, २०८३ |अभय बस्नेत
धन्यवाद, लुका मोड्रिच ! शरणार्थी बालकदेखि विश्व फुटबलका महानायकसम्म

काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ मा पोर्चुगलविरुद्धको राउनड अफ ३२ को खेलमा पराजय बेहोर्दै क्रोएसिया प्रतियोगिताबाट बाहिरिएको मात्र छैन, फुटबल इतिहासकै एक महान् जादुगरले आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सदाका लागि बिट मारेका छन् । 

लुका मोड्रिच-आज हामी मेस्सी र रोनाल्डोको एकाधिकार तोड्दै ‘बालोन डी'ओर’ जित्ने र रियल म्याड्रिडलाई ६ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउने सफल खेलाडी मोड्रिचको यात्रा को चर्चा गर्दैछौं ।

जारी विश्वकपमा टोरोन्टोको साँझ, खेलको अन्तिम सिटी बज्दै गर्दा एउटा युगको अन्त्य भयो । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ बाट क्रोएसिया बाहिरिँदै गर्दा, फुटबल इतिहासकै एक महान मिडफिल्डरले अन्तर्राष्ट्रिय मञ्चबाट सदाका लागि बिदा लिए । 

‘लुका मोड्रिच’ ४० वर्षको उमेरमा पनि मैदानमा जादुमय प्रदर्शन गरिरहेका यी ‘माएस्ट्रो’ ले पोर्चुगलविरुद्धको हारसँगै आफ्नो २ सय २ क्यापको गौरवमय यात्रामा पूर्णविराम लगाएका छन् । तर, यो शिखरमा पुग्नुअघिको लुकाको यात्रा कुनै फिल्मभन्दा कम थिएन । 

सन् १९८५ मा जादारमा जन्मिएका लुकाको बाल्यकाल क्रोएसियाली स्वतन्त्रता संग्रामको आतंकबीच गुज्रिएको थियो । सन् १९९१ मा सर्बियाली विद्रोहीले उनका हजुरबुबाको हत्या गरेपछि उनको परिवार शरणार्थी बन्न पुग्यो । सात वर्षसम्म लुकाले जादारका होटलका कोठामा शरणार्थी जीवन बिताए । 

बमबारीको त्रासकै बीच होटलको पार्किङ लट नै उनको पहिलो फुटबल मैदान बन्यो । बिजुली र पानीको अभावमा पनि उनले फुटबलसँगको आफ्नो नाता कहिल्यै तोडेनन् । सुरुवाती दिनमा लुकालाई धेरैले ‘सानो र कमजोर’ भन्दै क्लब र ट्रायलहरुमा अस्विकार गरेका थिए । तर, उनले आफ्नो शारीरिक कमजोरीलाई नै आफ्नो शक्तिको आधार बनाए । 

डिनामो जाग्रिबबाट व्यावसायिक यात्रा सुरु गरेका लुकाले सुरुमा बोस्नियाली लिगमा आफूलाई प्रमाणित गरे । १८ वर्षकै उमेरमा त्यहाँको उत्कृष्ट खेलाडी बनेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सन् २००८ मा टोटनह्याम हट्सपर पुगेका लुकाले प्रिमियर लिगमा छाप छोड्न सफल रहे । तर, उनको खेल जीवनको स्वर्ण युग भने सन् २०१२ मा रियल म्याड्रिड प्रवेश गरेपछि सुरु भयो । 

सुरुमा ‘खराब साइनिङ’ भनिएका लुका अन्ततः म्याड्रिड इतिहासकै सबैभन्दा सफल खेलाडी बने । १३ सिजनमा २८ वटा ट्रफी, जसमा ६ वटा च्याम्पियन्स लिग र ४ वटा ला लिगा उपाधि समावेश छन् । हालै एसी मिलानमा एक सिजन बिताउँदा पनि उनले ४० वर्षको उमेरमा सम्झनलायक प्रदर्शन गरे । 

अब कुरा गरौं उनको अन्तराष्ट्रिय करियरको । सन् २००६ मा अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यू गरेका उनले क्रोएसियाली फुटबललाई विश्व फुटबलको शिखरमा पुर्‍याए । सन् २०१८ मा कप्तानको रूपमा उनले टिमलाई विश्वकपको फाइनलसम्म पुर्‍याए, जुन क्रोएसियाली खेल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि थियो । 

५ वटा विश्वकप र ५ वटा युरो खेलिसकेका लुकाले आफ्नो देशका लागि २०० भन्दा बढी खेल खेल्दै कीर्तिमान कायम गरेका छन् । सन् २०१८ लुकाका लागि ऐतिहासिक रह्यो । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको दशकौं लामो एकाधिकार तोड्दै उनले बालोन डी'ओर र फिफा ‘द बेस्ट’ अवार्ड जिते । 

विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि उनले ‘गोल्डेन बल’ हात पारे । यी उपलब्धिहरूले उनलाई फुटबलका सर्वकालीन महान् खेलाडीको पङ्क्तिमा उभ्याएको छ । लुका मोड्रिचलाई किन महान् मानिन्छ त ? यसको उत्तर उनको ‘भिजन’ र ‘इन्टेलिजेन्स’ मा छ । 

मैदानको हरेक कुना देख्न सक्ने क्षमता, उनको सिग्नेचर ‘ट्रिभेला’ पास र कठिन परिस्थितिमा पनि खेलको टेम्पो नियन्त्रण गर्न सक्ने उनको शैली अद्वितीय छ । एउटा शरणार्थी बालकबाट विश्व फुटबलको मानचित्रमा आफ्नो राष्ट्र उभ्याउनुसम्मको उनको कथा संघर्ष र सफलताको पर्याय हो । 

आजबाट फेरि क्रोएसियाको रातो र सेतो जर्सीमा उनी देखिने छैनन्, तर फुटबल इतिहासको पानामा लुका मोड्रिचको नाम सुनौलो अक्षरले कोरिएको छ ।

धन्यवाद लुका ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।