एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई हरायो

मंसिर १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपमा समूहको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको छ । सारजाहा क्रिकेट रंगशालामा नेपालले पाएको एक सय २४ रनको लक्ष्य ४१ ओभर तीन बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो । 

पहिलो इनिङमा नेपालले अफगानिस्तानलाई १२३ रनमा रोक्न सफल भयो । नेपाली बलरले सुरुवातबाटै दबाबमा राख्दा अफगानिस्तानका दुवै ओपनर शून्यमै आउट भए । कप्तान महबुब खान र उजैरुल्लाह निजाई आउट हुँदा अफगानिस्तानको खातामा मात्र एक रन थियो । 

यी दुई विकेट हेमन्त धामी र अभिषेक तिवारीले लिएका थिए । तेस्रो नम्बरका फैजल सिनोजादाले लामो पारी खेल्दै अर्धशतकीय योगदान गरे । उनले ७६ बलमा ५२ रन बनाएर इनिङलाई उकासेका थिए । तर उनले पनि बाँकी खेलाडीको साथ पाउन सकेनन् । 

हमजा खान ९, बारकत इब्राहिमजाई १२, इजात बराकजाई र अजिफुल्लाह अमिरी समान एक-एक रनमा आउट भए । त्यसैगरी, नासेर खान अरुफकिलीले १० रन बनाउँदा एम घाजानफरले ११ रनको योगदान गरेका थिए । खातिर स्टानिकजाईले पनि अन्तिममा १५ रन बनाए।

बलिङतर्फ नेपालका युनिस ठकुरी र सन्तोष यादवले समान तीन-तीन विकेट लिए । यी दुई खेलाडीले नै मध्यक्रम र लाइनअपको पुछारका खेलाडीलाई आउट गराएका हुन् । जवाफमा नेपालले पनि कमजोर सुरुवात गर्‍यो । १२ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर २३ रन मात्र बनाएको थियो । 

ओपनर आकाश त्रिपाठी ९ र मयन यादव १ रनमा आउट भए । सन्तोष यादव ७ र नरेन भट्ट २ रनमा नै बाहिरिए । ९ रन बनाएका रोशन विश्वकर्मालाई स्टानिकाजाईले पवेलियनको बाटो देखाएका थिए । उत्तम रन्गु थापा मगर शून्यमा बाहिरिए । 

२३ औं ओभरमा ६ विकेट गुमाउँदा नेपालले ५४ रन मात्रै बनाएको थियो । अर्जुन कुमाल २१ र अभिषेक १३ रनमा आउट भए । ३२ ओभर सकिँदा नेपालले ८ विकेट गुमाएर ९५ रन बनाएको थियो । 

अन्तिममा कप्तान हेमन्त धामीले २२ र नरेन साउदले २६ रन प्रहार गरेर नेपाललाई जितसम्म पुर्‍याए । अफगानिस्तानका अल्लाह गजानफिर र खतिर स्टानिकजाईले समान तीन-तीन विकेट लिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement