काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ पुरुष एसिया कप-२०२४ खेल्ने नेपालको युवा टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । क्यानले हालै सम्पन्न भारतको कनार्टक अन्डर-१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनको आधारमा अन्तिम टोली घोषणा गरेको हो । सो सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।
सिरिजका लागि घोषित १८ सदस्यीय टोलीबाट दिलसाद अली, राजेश यादव र दयानन्द मण्डलले टिममा स्थान बनाउन सकेनन् ।
पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनको प्रशिक्षण र धिरेन्द्र चन्दको सहायक प्रशिक्षणमा नेपाली युवा टोलीको कप्तानी हेमन्त धामीले गर्ने छन् । उपकप्तानी जिम्मेवारी अर्जुन कुमाललाई दिएइको छ ।
टिममा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमारले स्थान बनाएका छन् ।
यू-१९ एसिया कप मंसिर १४ देखि २३ गतेसम्म यूएईमा आयोजना हुँदै छ । प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउने छन् । नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । समूह एमा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग खैल्ने छ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्दा मंसिर १८ गते अफगानिस्तानको सानमा गर्नेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउाने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।