एन्डी मर्रेले आफ्ना पूर्वप्रतिस्पर्धी नोभाक जोकोभिचलाई प्रशिक्षण गराउने

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 एन्डी मर्रेले आफ्ना पूर्वप्रतिस्पर्धी नोभाक जोकोभिचलाई प्रशिक्षण गराउने

काठमाडौं । बेलायतका एन्डी मर्रे र सर्वियाका नोभाक जोकोभिच फेरी एक पटक सँगै हुने भएका छन् । मर्रे र जोकोभिच विपक्षी नभएर खेलाडी र प्रशिक्षकका रुपमा सँगै हुने भएका हुन् ।

मर्रेले सन् २०२५ को अस्ट्रेलियन ओपनमा लामो समयदेखिका पूर्व चीर प्रतिद्वन्द्वी जोकोभिचलाई प्रशिक्षण गराउने छन् । ३७ वर्षीय मर्रेले गत अगस्टमा १९ वर्षको खेल करियरबाट संन्यास लिएका थिए । २४ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले अस्ट्रेलियन ओपनमा मर्रे आफ्नो प्रशिक्षक रहने जानकारी दिएका हुन् ।

पूर्व नम्बर एक मर्रे र ३७ वर्षीय जोकोभिचले खेलाडी जीवनमा ३६ पटक एकआपसमा प्रतिस्पर्धा गरेका थिए । जसमा जोकोभिचले २५ खेलमा जित हात पारेका थिए । जोकोभिच र मर्रेले जनवरी १२ देखि २६ सम्म हुने वर्षको पहिलो ग्रान्डस्लामको तयारीका लागि अफ सिजन सँगै काम गर्नेछन् ।

खेल जीवनबाट संन्यास घोषणा गरेपछि मर्रेको प्रशिक्षकमा रुपमा यो पहिलो जिम्मेवारी हुनेछ । जोकोभिचले कीर्तिमानी दश पटक अस्ट्रेलियन ओपन जितेका छन् । त्यसमध्ये उनले मर्रेलाई मेलवर्नमा चार फाइनलमा पराजित गरेका थिए । जोकोभिचले, नेटको एकै भागमा मर्रेसँग समय बिताउन पाउँदा आफू उत्साहित रहेको बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.