१८ वर्षपछि म्यानचेस्टर सिटी लगातार पाँच खेलमा पराजित

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
१८ वर्षपछि म्यानचेस्टर सिटी लगातार पाँच खेलमा पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटेनहमले म्यानचेस्टर सिटीमाथि चार-शून्य गोलको सानदार जित हात पारेको छ । पेप ग्वार्डिवालाको टोलीले १८ वर्षपछि लगातार पाँच खेलमा हार बेहोरेको हो ।

इत्तिहाद स्टेडियममा गएराति भएको खेलमा पाहुना टोली टोटेनहमले १३औं मिनेटमा जेम्स मेडिसनको गोलमार्फत अग्रता लिएको थियो । २०औं मिनेटमा उनैले आफ्नो टिमका लागि दोस्रो गोल थपे । जारी सिजन मेडिसनको यो पाँचौ गोल हो ।

त्यसको केही समयपछि घरेलु टोलीका लागि फिल फोडनले गोल फर्काउने मौका पाएका थिए तर, सफल भएनन् । पहिलो हाफमा दुई-शून्यले पछि परेको सिटीले पुनरागमन गर्न सकेन । ५२औं मिनेटमा पेड्रो पोरोले सिटीसँगको दुरी तीन-शून्यमा पुर्‍याए । इन्जुरी समयमा ब्रेनन जनसनले गोल गरेपछि सिटीको घरेलु मैदानमा ५२ खेलदेखिको अपराजित यात्रामा पनि पूर्णबिराम लाग्यो ।

प्रिमियर लिगमा सिटीको यो लगातार तेस्रो पराजय हो । ग्वार्डिवालाको नेतृत्वमा सिटीले लिगमा लगातार तीन खेल हारेको पनि यो पहिलो पटक नै हो । यस्तै ग्वार्डिवालाले यसअघि आफ्नो प्रशिक्षण करियरमा घरेलु मैदानमा चार गोलको हार बेहोरेका थिएनन् ।

सन् २००३ यता सिटीको आफ्नो मैदानमा यो सबेभन्दा खराब नतिजा हो । सिटीको मिडफिल्डमा रोड्रिको अभाव खड्किएको थियो । तालिकाको दोस्रो स्थानमा रहेको साविक विजेता सिटीको १२ खेलबाट २३ अंक छ । १९ अंकका साथ टोटेनहम छैटौं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ११ खेलबाट २८ अंक छ । लिभरपुलले आजराति साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.