कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थप सम्बन्धी बहस सकिएको छ। न्यायाधीश हिमलाल बेलबासेको इजलासमा भएको बहसको निर्णय आउन भने बाँकी रहेको छ ।
यसअघि कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो । लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईं र रामकुमार खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि पनि पक्राउ पुर्जी जारी भएको छ ।