काठमाडौं । साविक विजेता इटाली डेभिस कपको फाइनलमा प्रवेश गरेको छ । विश्व नम्बर एक यानिक सिनरको नेतृत्वमा रहेको इटालीले सेमिफाइनलमा अस्ट्रेलियालाई दुई-शून्य सेटले पराजित गरेको हो ।
मालागामा इटालीलाई सहज जित दिलाउने क्रममा सिनर र माटेयो बेरेटेनीले उत्कृष्ट प्रदर्शन गरे । बेरेटेनीले थानासी कोकिनाकिसमाथि तीन सेटको पुनरागमन जित हात पारेका हुन् । उनले पहिलो सेट टाइब्रेकरमा ६-७ ले गुमाएका थिए ।
बाँकी दुईमा सेटमा उनले लय समाते । दोस्रो सेट ६-३ ले जितेका बेरेटेनीले तेस्रो सेट ७-५ ले आफ्नो पक्षमा पारेपछि इटाली उपाधि नजिक पुग्न सफल भयो । बेरेटेनीले खेल जित्न दुई घण्टा ३९ मिनेट लगाएका थिए । दुई पटकका ग्रान्डस्लाम च्याम्पियन सिनिरले पहिलो सेटमा, एलेक्स डी मिनोमाथि पूर्ण नियन्त्रण जमाए ।
उनले पहिलो सेट ६-३ ले जितेका थिए । दोस्रो सेट पनि सिनरले सहजै ६-३ ले जितेपछि इटालीले जित हात पारेको हो । अघिल्लो संस्करणको सेमिफाइनलमा पनि यीनै दुई टोली आमने सामने भएका थिए । सो बेला सिनरले डी मिनोलाई हराएका थिए । फाइनलमा इटालीले नेदरल्यान्डससँग खेल्नेछ ।
नेदरल्यान्डस पहिलोपटक फाइनल पुगेको हो । इटालीको महिला टिमले केही दिनअघि मात्र बिली जिन किंग कप जितेको थियो ।