रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न म्याद थप

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न म्याद थप

कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले म्याद थप गरिदिएको छ । न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछाने सहित अन्य तीन जनालाई १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

लामिछाने सहित पूर्व डीआईजी छविलाल जोशी, रामकुमार खनाल र लीला पछाईलाई १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । अहिले लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयतिर लगिएको छ ।

यसअघि कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज लामिछानेलाई अदालत उपस्थित गराइएको थियो । कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि पनि पक्राउ पुर्जी जारी भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.