काठमाडौं । स्पेनिस लिग ला लिगामा शीर्ष स्थानको बार्सिलोना सेल्टा भिगोसँग दुई-दुई गोलको बराबरीमा रोकिएको छ । घरेलु टोली सेल्टाले दुई मिनेटको अन्तरमा दुई गोल फर्काउँदै नाटकीय रुपमा पुनरागमन गरेको हो ।
गएराति भएको राफिन्हाले १५औं मिनेटमा नै गोल गर्दै बार्सालाई एक-शून्यको अग्रता दिलाएका थिए । कप्तान राफिन्हाको सबै प्रतिस्पर्धामा गरी सिजनको यो १३औं गोल हो । पहिलो हाफमा सेल्टाले इआगो आसपासलाई जेरार्ड मार्टिनले फाउल गरेपछि पेनाल्टीको अपिल गरेको थियो ।
पेनाल्टी नपाएपछि रिसाएका आसपासले कार्ड पाए । ६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले ला लिगमा यो सिजनको १५औं गोल गरेपछि बार्साले तीन अंक हात पार्ने अनुमान गरिएको थियो । तर बाँकी समयमा सम्हालिन नसक्दा बार्सिलोना एक अंकमा चित्त बुझाउनु बाध्य भयो ।
८२औं मिनेटमा मार्क कासाडोले दोहोरो पहेलो कार्ड पाएपछि बार्सा दश खलाडीमा समेटियो । ८४औं मिनेटमा आल्फोन गोन्जालेजले गोल गर्दै सेल्टालाई खेलमा फर्काए । ८६औं मिनेटमा ह्युगो अल्भारेजले गोल गरेपछि सेल्टाले रोमाञ्चक बराबरीको नतिजा निकालेको हो । बार्साको १४ खेलबाट ३४ अंक छ ।
उसलाई पछ्याइरहेको एट्लेटिको मड्रिडको २९ अंक छ । गएराति नै भएको खेलमा एट्लेटिकोले आलाभेसलाई दुई-एक गोलले हरायो । १२ खेलबाट २७ अंकका साथ तेस्रो स्थानमा रहेको रियाल मड्रिडले आज लेगानेससँग खेल्नेछ ।