काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज लिग ‘नेपाल कबड्डी लिग’ को लोगो र ट्रफी सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आज भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपालमा हुन लागेको , कबड्डीको पहिलो फ्रेन्चाइज लिगको लोगो सार्वजनिक गरेका हुन् । ट्रफी पनि आजै सार्वजनिक भएको छ ।
लिगमा ६ शहर काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवलको नामबाट फ्रेन्चाइज टोली सहभागी हुनेछ । लिगका लागि सात प्रदेश बाट १ सय दश जना खेलाडी छनोट भएका छन् ।
यी खेलाडी ६ फ्रेन्चाइज टिमलाई उपलब्ध गराइनेछ । विदेशी खेलाडीको पनि सहभागिता रहनेछ । तर कति जना विदेशी खेलाडी राख्ने भन्ने बारे अहिले टुंगो लागि नसकेको आयोजक अस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ ।
लिग माघको पहिलो साता बाट लिग सुरु गर्ने तयारी गरिएको छ । तर मिति भने घोषणा भएको छैन । खेल त्रिपुरश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । पुरुष कवड्डी टिमले १२ औं दक्षिण एसियाली खेलकुदमा कास्य र १३ औं रजत पदक जितेको थियो ।
यसै वर्ष भएको बंगबन्धु गोल्डकपमा पनि नेपाल दोस्रो स्थान हात पार्न सफल भएको थियो । महिला टिमले १९ औं एसियाडमा कास्य हात पारेको थियो ।