काठमाडौं । नेपालको यू-१९ क्रिकेट टोलीले भारतको कर्नाटक विरुद्धको पाँच खेलको एकदिवसीय सिरिज ३-२ ले जितेको छ ।
आज भएको पाँचौं तथा निर्णायक खेलमा नेपालले सात विकेटको जित हात पारेको हो । नेपालको जितमा आकाश त्रिपाठी र मयन यादवले अर्धशतकिय योगदान दिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । कर्नाटकले ५० ओभरमा सवै विकेट गुमाएर १ सय ९१ रनको सामान्य योगफल बनाएको थियो । कर्नाटकले यो सिरिजमा पहिलो पटक पुरै ओभर खेल्यो । रोहितले सर्वाधिक ४१, गगन रावले ३४ र इजाले ३८ रन बनाए । कप्तान हेमन्त धामीले तीन, अभिषेक तिवारी र नरेन साउदले दुई-दुई विकेट लिए । जवाफमा नेपालले ३९ ओभर पाँच वलमा तीन विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
आकाश त्रिपाठी र मयन यादवले नेपाललाई राम्रो सुरुवात दिलाए । मयनले ६६ वलमा ५० रनको योगदान गरे । अर्जुन साउदले २१ र सन्तोष यादवले ४ रन बनाए । आकाश ८९ रनमा अविजित रहे । नरेनले १८ रन थपे । प्रनवले दुई र तेजसले एक विकेट हात पारे । नेपालले एसीसी मेन्ज अन्डर नाइन्टिन एसिया कपको तयारीका लागि अभ्यास सिरिज खेलेको हो ।