बोर्डर गावस्कर ट्रफी : भारत एक सय ५० रनमा अल आउट

मंसिर ७, २०८१ |खेल ब्युरो
बोर्डर गावस्कर ट्रफी : भारत एक सय ५० रनमा अल आउट

काठमाडौं । बोर्डर गावस्कर ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबीचको पहिलो टेस्टको पहिलो दिनमै भारत एक सय ५० रनमा अल आउट भएको छ । पर्थ स्टेडियममा भएको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको थियो । भारतका कुनै पनि ब्याट्सम्यानले ५० रन बनाउन नसक्दा भारत ४९ ओभर पाँच बलमा एक सय ५० रनमा अल आउट भयो ।

भारतीय टोलीले ७३ रन बनाउँदा ६ विकेट गुमाएको थियो । यशस्वी जैसवाल र देवदत्त पडिक्कलले खाता खोल्न सकेनन् भने विराट कोहली पाँच रन, ध्रुब जुरेल ११ रन र वासिङ्टन सुन्दर ४ रन बनाएर आउट भए । डेब्यू खेलमा नितिश रेड्डीले ४१ र ऋषभ पन्तले ३७ रन बनाए ।

बलिङतर्फ अस्ट्रेलियाका जोस हेजलउडले चार विकेट लिए भने कप्तान प्याट कमिन्स सहित मिचेल मार्स र मिचेल स्टार्कले समान दुईदुई विकेट लिए ।

यता घरेलु मैदमानमा अस्ट्रेलियाले पनि पहिलो इनिङ्समा खराब प्रदर्श गर्‍यो । बलिङमा भारतले पुनरागमन गर्दा अस्ट्रेलिया पहिलो दिनको समाप्तिसम्म २७ ओभर खेलेर ६७ रनमा ७ विकेट गुमाएको दयनीय अवस्थामा छ । डेब्यू खेलमा अस्ट्रेलियाका नाथन म्याक स्विनीले १० रन बनाए । उस्मान ख्वाजाले आठ रन बनाउँदा स्टीभ स्मिथले खाता खोल्न सकेनन् । ट्राभिस हेडले ११, मिचेल मार्सले ६, मार्नस लाबुसेनले दुई र कमिन्सले तीन रन बनाए ।

भारतका लागि कप्तान जसप्रित बुमराहले चार विकेट लिए । मोहम्मद सिराजले दुई तथा हर्षित रानाको नाममा एक विकेट रह्यो । हर्षितका लागि यो डेब्यू टेस्ट हो ।

पहिलो दिनको खेल सकिँदासम्म घरेलु टोली भारतभन्दा ८३ रनले पछि छ । तीन विकेट हातमा रहेको अस्ट्रेलियाका लागि दोस्रो दिनको शुरूआत एलेक्स केरी र मिचेल स्टार्कले गर्ने छन् । केरी १९ र स्टार्क ६ रनमा नटआउट छन् ।