भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश

उपाधिका लागि बुधबार बंगलादेशसँग भिड्दै
कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश

काठमाडौं । नाटकीय खेलमा जित निकाल्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

दशरथ रंगशालामा आज सम्पन्न भएको खेल लामो समय विवादित बने पछि पुनः सुरु भएको खेलमा नेपालले बराबरी गोल फर्काएपछि पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा नेपालले भारतविरुद्ध ४-२ को जित दर्ता गरेको हो ।

खेलको पहिलो हाफमा नेपाल र भारत दुवैले गोल गर्न नसके पनि दोस्रो हाफमा भारतले गोल गरेको हो । खेलको २३ औं मिनेटमा भारतकी मनिषाले बायाँतर्फबाट गरेको प्रहार नेपाली डिफेन्डरले बचाएका थिए । ३१ औं मिनेटमा सावित्रा भण्डारीले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलकिपर देवी वाङदेमले जोगाइन् ।  रिबाउन्ड बलमा अमिशा कार्कीको प्रहारसमेत गोलकिपरले बाहिर पठाइदिइन् । 

पहिलो हाफको इन्ज्युरी समयमा मनिषाको फ्री किक नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो शुब्बाले बचाएकी थिइन् । दोस्रो हाफमा नेपाल १० खेलाडीमा समेटियो । रन्जना चानुसँग जध्न पुगेकी रेखा पौडललाई रेफ्री सिएम छोरीले दोहोरो पहेँलो कार्ड देखाइन् ।

त्यसपछि खेल १२ मिनेट रोकिएको थियो । खेलको ७२ औं मिनेटमा वाङदेमको लामो क्रस डिफेन्डर विमला बिकेले जोगाएकी थिइन् । तर रिबाउन्ड भएको बलमा लामो दुरीबाट प्रहार गरेर संगीता बासफोरेले गोल गरेकी हुन् ।

त्यसको अर्को मिनेटमा नै नेपालकी प्रिति राईले गरेको गोल भने रेफ्रिले मान्यता दिएनन् । त्यो समयमा भारतका अफिसियल मैदानमा नै रहेको कारण रेफ्रीले गोल मान्यता नदिएको हो । तर सो गोलले मान्यता पाउनुपर्ने नेपालको अपिल रेफ्रीले नमानेपछि खेल लामो समय अवरुद्ध भएको थियो ।

एक सय ३२ मिनेटमा फेरी सुरु भएको खेलको एक सय ४० मिनेटमा सावित्रा भण्डारीले बराबरी गोल गरेसँगै खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा नेपालका सावित्रा, गीता राना, सविता राना मगर र अमिशा कार्कीले गोल गरेका हुन् । भारतको लागि पहिलो पेनाल्टी प्रहार गरेकी कप्तान आशालता देवील‍े बारमा प्रहार गरिन् । 

भारतीय मिडफिल्डर रन्जना चानुको प्रहार गोलकिपर अन्जना राना मगरले बचाएपछी नेपाल विजयी भएको हो । सातौं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल अपराजित रहेर सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणामा ब‌ंगलादेशसँग पनि हार बेहोरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.