हिरासतमा सभापति, रनभुल्लमा रास्वपा !

कार्तिक ११, २०८१ |दीपक आचार्य
हिरासतमा सभापति, रनभुल्लमा रास्वपा !

काठमाडौं । सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका लागि प्रहरी थुनामा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्योल छाएको छ । अनुसन्धानमा रहेका सभापतिको न्यायिक परीक्षणमा सहयोग गर्नुको साटो पार्टीका नेता तथा कार्यकर्ताहरू बचाउका लागि आन्दोलनमा उत्रिएका छन् । यसले पार्टीका गतिविधिदेखि जिम्मेवारी बाँडफाँटसम्मका काम अलपत्र छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा रहेका लामिछानेको न्यायिक परीक्षण हुन बाँकी नै छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी भने कास्की पुगेर सभापतिको बचाउमा सडक आन्दोलनमै उत्रियो । अहिले कहिले चितवन त कहिले काठमाडौंमा कुनै न कुनै रूपमा उनीहरूले सडक आन्दोलन गरेको देखिन्छ । तर सांगठनिक रूपमा भने रास्वपा अन्योलमा देखिएको छ ।

केन्द्रीय समितिको बैठक नै सभापति पक्राउको ८ दिनपछि बस्यो । शनिबार बसेको बैठकले दुई उपसभापतिको नेतृत्वमा समानान्तर जिम्मेवारी दिएर अगाडि बढेको छ । बैठकको अध्यक्षताका लागि पहिलो वरियताका उपाध्यक्ष डोलप्रसाद अर्याललाई तोकिएको थियो । तर पार्टीमा महत्त्वपूर्ण निर्णय लिनुपर्दा ठोस योजनासहित कसरी अगाडि बढ्ने भन्नेमै अलमल छ । कार्यवाहक सभापति त तोकिएको छैन नै, महामन्त्री र प्रवक्तासमेत कार्यवाहकको भरमा चलेको छ । तर नेताहरू भने समस्या रहेको मान्न तयार छैनन् ।

यसअघि पनि नागरिकता विवादमा सभापति लामिछानेको सांसद पद गुम्दा डीपी अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो । अहिले कार्यवाहककै विषयलाई लिएर विवाद गर्ने मनस्थितिमा अर्का उपसभापति स्वर्णिम वाग्ले नरहेको नेताहरूको दाबी पनि छ । महामन्त्री मुकुल ढकालको बहिर्गमन पश्चात् सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइयो ।

सभापति लामिछाने निकटमध्ये धेरै आकांक्षी देखिएका कारण पनि यी पदमा टुङ्गोमा पुग्न नसकेको स्पष्टै छ । जसले महत्त्वपूर्ण निर्णयका लागि सभापतिकै आदेश कुर्ने स्थिति बनेको छ । गलत राजनीतिको चिरफार गर्ने र नयाँ तरिकाले अगाडि बढ्ने भनेर गठन भएको दलका गतिविधिले भने रास्वपाको दाबी र काम गराइबीचको तालमेल नहुने निश्चित भएको कतिपयको बुझाइ छ ।

सभापति पक्राउपछि उपसभापति डीपी अर्यालको नेतृत्वमा पार्टी सञ्चालन गर्ने र उपसभापति वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ। रास्वपाले सभापति पक्राउ परेसँगै स्थगित जिल्ला भेला, सांगठनिक र पार्टी गतिविधि सञ्चालन गर्ने भनेको छ भने पहिलो महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । तर, लामिछानेको प्रकरण के हुन्छ भन्ने विषयले नै रास्वपा अझै केही समय अलमल र अन्योलमै रहने निश्चितजस्तै छ ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।